प्रचण्ड-माधव समूहले प्रधानमन्त्री ओलीविरूद्धको अविश्वास प्रस्ताव अघि नबढाउने

१७ फागुन, काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल पक्षले दर्ता भइसकेको अविश्वास प्रस्ताव अगाडि नबढाई नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरूसँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने संकेत गरेको छ।

Advertisement

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेकै दिन पुस ५ मा संसद सचिवालयमा लगेको अविश्वास प्रस्तावलाई अगाडि नबढाउने र बदलिँदो परिस्थितिअनुसार दलहरूसँग छलफलपछि अविश्वास प्रस्ताव लैजाने तयारीमा प्रचण्ड–नेपाल पक्ष छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई विघटन गरेकोमा फागुन ११ मा सर्वोच्चले बदर गरिदिएको थियो। त्यसपछि प्रचण्ड–नेपाल पक्षले कांग्रेस र जसपासँग सहकार्यको प्रस्ताव गरे पनि सहमति भइसकेको छैन।

Advertisement

प्रचण्ड–नेपाल पक्ष नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अरू पार्टीहरूसँग छलफल गरेर अविश्वास प्रस्तावबारे अब कसरी अगाडि बढ्ने भन्ने कुराकानी भइरहेको जानकारी दिए।

‘यसबारे अरू पार्टीहरूसँग पनि छलफल भइरहेको छ,’ उनले भने।

Advertisement

तर नेकपाका एक सांसदका अनुसार पहिले पेश गरिएको अविश्वास प्रस्ताव फिर्ता गर्ने तयारी छ। सकेसम्म आफूहरूकै नेतृत्वमा नयाँ सरकार बनाउने र कांग्रेस तथा जसपाले नमान्ने अवस्था रह्यो भने उनीहरूसँग सहकार्य गरेर जाने पार्टीमा छलफल भइरहेको छ।

‘पहिलेको अविश्वास प्रस्ताव अगाडि नबढाउने र कांग्रेसलगायत दलसँग छलफलपछि अघि बढ्ने कुराकानी भएको छ,’ ती सांसदले भने।

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको कुराभन्दा पनि मानिसहरूले दुई तिहाइ नजिकको आफ्नै सरकार ढालेर कांग्रेसलाई सत्ता बुझाएको आरोप आफूहरूमाथि लाग्न सक्ने चिन्ता पनि व्यक्त गरेका छन्। ‘सकेसम्म हाम्रै नेतृत्वमा अगाडि जानुपर्छ भन्ने हो,’ उनले भने।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top