२२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई आधुनिकीकरण गरि मर्यादित पेशाको रुपमा स्थापित गराउनका लागि सरकारले तिब्र ढंगले काम गरिरहेको बताएका छन् ।
काठमाण्डौमा शनिबार एक समारोहका बीच किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कृषि पेशालाई मर्याति बनाउनका लागि आम्दानीमा वृद्धि गर्नुपर्ने भएकाले कृषि आधुनिकीकरणलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताएका हुन् । कृषिको आधुनिकीकरण बिना किसानको आम्दानी बढ्न नसक्ने तथा आम्दानीवाला पेसा नभएसम्म मर्यादित पनि हुन नसक्ने तर्क उनको थियो । कृषि उपजबिना मान्छेको जीवन नचल्ने उल्लेख गर्दे उनले ठूलो पेशा,ठूलो ओहोदा भन्ने विषय सबै वेकारको भएको बताए । उहाँले भन्नुभयो “कृषि उपज बिना खाद्यान्न वा खाद्यपदार्थ विना त मान्छेको जीवन नै चल्दैन । त्यसकारण ठूलो पेशा, ठूलो पद, ओहदा बेकारको अंहकार हो । सबै कुरा चल्ने कृषिबाट हो । कृषिको आधुनिकीकरणका हरेक महिना गेयर चेञ्ज गरिरहेका छौ । अझ तिब्र गतिका साथ अघि बढ्नका लागि । कृषि रणनीति कार्यान्वयन गर्नका लागि यो (किसान सूचीकरण राष्ट्रिय अभियान) कार्यक्रमले ठूलो सहयोग पुर्याउने छ ।”
उनले किसान सूचीकरण राष्ट्रिय अभियानमा सहयोग गरेकोमा युरोपेली युनियनलाई धन्यवाद दिदै सहयोग दुरुपयोग हुन नदिने प्रतिवद्धता पनि जाहेर गरे । उनले कृषिको आधुनिकीकरण लगायत विकासका काममा आगामी दिन पनि निरन्तर सहयोग रहने विश्वास आफुले लिएको बताए ।कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले सम्मृद्ध किसान स्वस्थ्य नेपाल निर्माणका लागि किसान सूचीकरण राष्ट्रिय अभियानले ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् । उनले विभिन्न समयमा भएका किसान आन्दोलनको सफलताको कडीको रुपमा किसान सूचीकरण राष्ट्रिय अभियान सुरु भएको पनि बताइन । उनले अभियानमार्फत किसानको विस्तृत विवरण संकलन हुनुको साथै सरकारको सहयोग लक्षित वर्गसमक्ष पुग्ने विश्वास व्यक्त गरिन ।
सातवटै प्रदेशमा सञ्चालन हुने गरि काठमाण्डौबाट किसान सूचीकरण राष्ट्रिय अभियान सुरु गरिएको हो । यो अभियान अन्र्तगत किसानहरुको विस्तृत जानकारी डिजिटल माध्यमबाट संकलन गरिन्छ ।


