पशुपतिमा जथाभावी कंक्रिट प्रयोग गरि पुननिर्माण गरिएको भन्दै तत्काल काम रोक्न अभियन्ताहरुको माग

५ चैत ७७, शुक्रबार

६ चैत, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा भइरहेको पुननिर्माण रोक्न सम्पदा अभियन्ताहरूले माग राखेका छन्। २०७२ को भुइँचालोले क्षति पु¥याएको सम्पदा क्षेत्रमा पुननिर्माण गर्दा जथाभावी कंक्रिट प्रयोग गरिएकाले तुरून्त काम रोक्न उनीहरूले माग राखेका हुन्।

Advertisement

यही विषयमा ध्यानाकर्षण गर्दै अभियन्ताहरूले गत मंगलबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, युनेस्को कार्यालय, पुरातत्व विभाग लगायतमा ज्ञापन पत्र बुझाएका थिए।

सोही पत्रलाई लिएर पशुपति क्षेत्र विकास कोषले सम्पदा अभियन्ता र पत्रकारबीच बिहीबार अन्तरक्रिया गरेको थियो। अन्तरक्रियामा अभियन्ताहरूले गुरूयोजनाको आडमा पशुपति क्षेत्र विकास कोषले जथाभावी संरचना निर्माण गरेको र पुननिर्माणमा परम्परागत सामग्री प्रयोग नगरेको आरोप लगाए।

Advertisement

‘हामीले नक्सा बमोजिम घर नबनाउँदा पास नै हुँदैन। हाम्रो सम्पत्ति नै खोटो हुन्छ। तर संरक्षण गर्नुपर्ने जिम्मा लिएका निकायले जे गर्दा पनि हेरेर बस्नुपर्ने?,’ पूर्व सांसद तथा अभियन्ता नरोत्तम वैद्यले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडालाई प्रश्न गरे।

अन्तरक्रियामा सहभागी अन्य अभियन्ताको प्रश्न पनि यही विषय वरिपरि थियो। कार्यकारी निर्देशक खतिवडाले सबैलाई एउटै जवाफ दिए, ‘हामीले गुरूयोजना अनुसारै काम गरिरहेका छौं। विज्ञको सल्लाह बिना अघि बढेका छैनौं। काम पूरा भएपछि नतिजा देखिन्छ।’

Advertisement

अभियन्ताहरूले भने पुननिर्माण क्रममा लापरबाही गरिएको तर्क अघि सारिरहे।

उनीहरूले सरोकारवाला निकायलाई बुझाएको पत्रमा पनि प्राचीन स्मारक गुह्येश्वरी उत्तरको सत्तलको उचाइ र चौडाइ घटाइ जगमा सिमेन्ट प्रयोग गरिएको, सरोकारवालासँग समन्वय नगरी श्री बम्बई ढुकुटी भत्काइएको, पशुपति पाकशाला र श्रीको ढुकुटी पुननिर्माण क्रममा उचाइ र चौडाइ परिवर्तन गर्ने कोसिस भइरहेको उल्लेख छ।

साथै परम्परागत विपरीतका सामग्री प्रयोग गरिएको, श्लेषमान्तक र मृगस्थलीको पर्यावरण रक्षा नगरेको र बन्दै गरेको गुरूयोजनालाई देखाउँदै मनपरी निर्माण सुरू गरेको पत्रमा लेखिएको छ। पशुपति क्षेत्रमा भइरहेको यस्ता गतिविधि तत्काल नरोकिए सर्वोच्च अदालतमा निवेदन दिन बाध्य हुने र दोषी पत्ता लगाई कारवाही नगरे प्रहरीमा दर्ता गराउने कुरा अभियन्ताहरूले बताएका छन्।

यसका साथै पशुपति क्षेत्र रक्षार्थ चरणवद्ध अभियानसमेत घोषणा गर्ने उनीहरूले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top