Nepal Times
Nepal Times
3
Shares

बहुमतको ओली सरकार रहुन्जेल कांग्रेस सरकारमा जाने कुरा गर्नु व्यर्थः देउवा

बहुमतको ओली सरकार रहुन्जेल कांग्रेस सरकारमा जाने कुरा गर्नु व्यर्थः देउवा

८ चैत्र, चितवन ।
ओली सरकार अहिले पनि बहुमतमै रहेकाले यही अवस्थामा अर्को सरकार बन्न नसक्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले ओली सरकार बहुमतमै रहेको उनको भनाइ छ । कांग्रेस केन्द्रीय तरुण विभागले स्व. गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवसमा चितवनको रत्ननगरमा युवा तरुण जागरण अभियानलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले बहुमतको ओली सरकार रहुन्जेलसम्म कांग्रेस सरकारमा जाने कुरा गर्नु व्यर्थ भएको बताए । देउवाले जनताले तेस्रो दल बनाएकाले कांग्रेस सरकारमा नगएकोप्रति जनताले कुनै आश्चर्य मान्नु नपर्ने जिकिर गरे ।

आफू अहिले प्रधानमन्त्री बन्न लालायित नभएको बताए । तर, जिम्मेवारी आए नभाग्ने जिकिर गरे । सोही कार्यक्रममार्फत आफ्नो पार्टीका नेता– कार्यकर्तालाई आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका देउवाले जनताको सेवा गरे सजिलै निर्वाचन जितिने बताए ।

देशको मालिक जनता भएकाले उनीहरूको सेवा गरे चुनाव सजिलै जितिने उनको भनाइ थियो । ‘हिजो जनताले भोट नदिएकाले हामीले हार्‍यौँ, त्यसकारण आजको दिनमा हामीले जनताले भोट दिने कार्यक्रम गर्नुपर्छ,’ देउवाले भने, ‘जनता देशका मालिक हुन्, सार्वभौमसत्ता सम्पन्न छन् ।

जसले जनताको सेवा गर्‍यो त्यसले चुनाव जित्ने हो ।’ उनले जनताको सुख–दुःखमा साथ दिन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.