देशी विदेशीले प्रधानमन्त्री ओलीलाई प्रयोग गरे: प्रचण्ड

८ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले पहिचान र अधिकारको मुद्दा नछोडेको बताएका छन् ।

Advertisement

आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा दलित मुक्ति मोर्चा द्धारा आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस(२१ मार्च) र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अधिकार र पहिचानको मुद्दा नछोडेको बताएका हुन् ।

दलित र महिलालाई विशेषाधिकार दिनको निम्ति आफुले पहल गरेको पनि उनको भनाई छ । विशेषाधिकारबिना महिला र दलितहरुले बास्तविक अर्थमा अधिकार सम्पन्न हुने अभियानमा प्रतिस्पर्धा गर्न सक्दैनन् भनेर संविधान सभाको माइनटमा नै नोट अफ डिसेन्ट राखि भविष्यमा यसको निम्ति आन्दोलन गर्ने बाटो खुला राखेको भएपनि आफुले मुद्दा छाडेको भनि प्रचार भएको उनको भनाई छ ।

Advertisement

प्राप्त अधिकारको उपयोग गर्दै बाँकी अधिकारको निम्ति लड्ने नीति लिएको भन्दै उनले विशेषाधिकार र पहिचानको मुद्दा नछोडेको स्पष्ट पारे ।

उनले भने – ‘तपाइहरुलाई लाग्दो हो प्रचण्डले छोडेको हो कि हाम्रो मुद्धालाई भन्ने लाग्दो हो । त्यो चाहीँ साचो होइन । मैले जति आन्दोलनको बलबाट र आजको राजनीतिक परिस्थितिमा प्राप्त हुनसक्ने जति अधिकार चाहिँ लिने र बाँकी अधिकारको निम्ति आन्दोलन जारी राख्ने नीति लिएको हो । अरु केही पनि होइन । न मैले विशेषाधिकार छोडेको छु । न मैले संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै उत्पीडितहरुले पाउनुपर्ने पहिचान र अधिकारको मुद्धा छोडेको छु । मैले जति प्राप्त हुन सक्थ्यो त्यति चाहीँ लिइहालौँ । त्यसभन्दा अगाडी चाहीँ फेरी आन्दोलन अगाडी बढाइराख्नुपर्ने हुन्छ । र हामीले संविधानलाई पनि एउटा गतिशिल र परिवर्तनशिल दस्तावेजको रुपमा संविधान संशोधनको माध्यमबाट परिमार्जन गर्दै लैजाने र उत्पीडितहरुको अधिकार र पहिचानलाई स्थापित गर्दै लैजाने बाटो अपनाएको मात्रै हो । तपाइहरुले गहिरोगरी विचार गर्नुभयो भने यो कुरा बेठिक भनेर बहस गर्ने ठाउँ हुन्छ भन्ने मलाई लागेको छैन ।’

Advertisement

अध्यक्ष प्रचण्डले संविधानमा दलित, महिला, मधेसी, आदिबासी जनजातिलाई अधिकार दिएको कतिपयलाई मन नपरेका कारण संविधान च्यात्न लागेको बताए । नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी विदेशीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजिएको पनि उनले आरोप लगाए ।

उनले भने – ‘हिजोका गणतन्त्र विरोधी, सामन्तवादका दलालहरु देश भित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु पनि जसले यो संविधानलाई स्वीकार्न सकेका छैनन् । बिचार गर्नुहोला, ति सबै मिलेर एउटा धार बनेको छ । र ति सबैले नेपालमा यो संविधानलाई निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा उनीहरुले केपी ओली भेटेका छन् । केपी ओली नै रहेछ यो संविधान सिध्याउन सक्ने, गणतन्त्रपनि सिध्याउन सक्ने, सबै उत्पीडित वर्ग , जाति, क्षेत्र, लिङ्ग,समुदायलाई उनीहरुको हक अधिकारलाई सिध्याउन सक्ने पहाडिया उच्च जातिय अहंकारवादको प्रतिनिधि र विदेशीको अगाडी राम्रै लम्पसार पर्नपनि सक्ने सजिलै । बिसौँ, पच्चीसौँ वर्षदेखि विदेशीहरुले हुर्काएको, पालित पोषित पनि को हो भनेर हेर्दै जाँदा केपी ओली नै देखियो भनेका छन् । र अहिले केपी ओलीलाई प्रतिनिधिको रुपमा त्यो धारको प्रतिगामी, प्रतिक्रान्तिकारी, निरंकुश, लोकतन्त्रविरोधी, समावेशी समानुपातिक विरोधी सारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्न सक्ने पात्रको रुपमा केपीजीलाई साथ लिएका छन् उनीहरुले । कतिदिन लिन्छन् मलाई थाहा छैन । अहिले चाहीँ लिएकै छन् ।’

नेपाली जनताले आत्मनिर्णयको अधिकार खोज्नुपर्ने अवस्था आएको अध्यक्ष प्रचण्डको भनाई छ । दलित, आदिवासी, जनजाति, श्रमिक लगायतको विरुद्धमा षड्यन्त्र भएको भन्दै उनले त्यसको विरुद्ध आफु बाचुञ्जेल लड्ने पनि बताए । संविधानमाथि प्रहार गरेर सबैको अधिकार उल्ट्याउन खोजिएको उनको भनाई छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top