विराटनगर,असार ३
अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क किशोरको उद्दार गरेको हो ।
संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार उनीहरुको उद्दारपछि प्रारम्भिक स्वास्थ्य परीक्षण थालिएको छ ।
‘उहाँहरुलाई थप मनोसामाजिक उपचार र आरामका लागि सदरमुकाम ल्याउने तयारी गरेका छौं’, घिमिरेले भने ।
अरुण तेश्रोको ड्याम साईट नुमको फ्याक्सिन्दामा निर्माणाधिन अरुण तेश्रोको सुरुङ खन्ने क्रममा हिँजो पौने ९ बजे ढिस्को झरेको थियो । उनीहरुको मृत्यु भएको अनुमान गरिएपनि अन्ततः जीवितै उद्धार भएका छन् ।
परियार र शाही कामदार रहेका थिए भने मुण्डा अपरेटर र नन्द किसोर ईलेक्टोनिक मिस्त्री रहेको बताईएको छ ।
घटना स्थल सदरमुकाम खाँदबारीबाट ५० किलोमिटर टाढा रहेको छ ।