३० चैत्र, एजेन्सी ।
चीनले आफ्नो देशमा उत्पादित खोपको प्रभावकारिता कम रहेको स्वीकार गरेको छ।
कोरोना भाइरसविरुद्धको चिनियाँ खोपको प्रभावकारिता तुलनात्मक रुपमा कम रहेको सिडिसी चीनले जनाएको छ।
चिनियाँ सेन्टर अफ डिजिज कन्ट्रोल (सिडिसी) का निर्देशक गाओ फूले शनिबार पत्रकार सम्मेलन गरेर प्रभावकारिता बढाउनका लागि खोप समायोजनबारे विचार गरिएको बताएका छन्।
चीनले आफ्नो देशमा उत्पादित कोरोना भाइरसविरुद्धका चार खोपलाई सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ।
तर ती खोपको चीन बाहिर गरिएको केही परीक्षणहरुमा प्रभावकारिता ५० प्रतिशत भन्दा कम देखिएका थिए।
चिनियाँ अधिकारीले आफ्नो खोपको प्रभावकारिता कम रहेको दुर्लभ स्वीकारोक्ति गरेका हुन्। तर सिडिसी प्रमुख गाओले आफ्नो भनाई बंग्याइएको बताएका छन्।
चीनमा अहिलेसम्म १० करोड भन्दा बढि मानिसले खोपको कम्तीमा एक डोज लगाएका छन् । चीनले आफ्नो खोप प्रभावकारी रहेको दाबी गर्दै आएको छ।
उसले चिनियाँ खोप लगाएका विदेशीलाई मात्रै भिसा दिने बताएको छ। गाओले शनिबार पत्रकार सम्मेलनमा भनेका थिए, ‘हालको खोपको प्रभावकारिता खासै धेरै छैन।
हामीले खोपहरु मिक्स गरेर प्रभावकारिता बढाउने योजना बनाएका छौँ।’
