तराईमा चैते छठ पर्व आज सम्पन्न

तराईमा चैते छठ पर्व आज सम्पन्न

६ वैशाख, महोत्तरी । उदाउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धा, निष्ठा र लोकआस्थाको चैते छठ पर्व आज सम्पन्न भएको छ ।

चैत शुक्लपक्षकोे षष्ठी तिथिका दिन हिजो अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिँदै पर्व सम्पन्न गरेका हुन् ।

यसअघि गएको शुक्रवार चौथीका दिन ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प गर्दै पर्व सुरु गरेका व्रतालुले शनिवार पञ्चमी तिथिमा दिनभरि निराहार व्रत बसी राति सक्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए ।

चार दिनको यो पर्वको पहिलो दिन पवित्र स्नान गरेर चोखोनितो खाएर व्रत सङ्कल्प गरिन्छ । यो विधिलाई ‘नहाय–खाय’ भन्ने चलन छ ।

यस्तै दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाएर केराको पातमा राखेर आदिशक्ति छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।

यो विधिलाई ‘खरना’ भनिन्छ । त्यसैगरी षष्ठी तिथिमा निराहार व्रत बसेर साँझ पवित्र घाटमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । यो विधिलाई बोलीचालीमा ‘सझुका अरख’ भनिन्छ । पर्वको अन्तिम दिन सप्तमीका बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै पर्व सम्पन्न गरिने परम्परा छ । यो अन्तिम विधिलाई ‘भोरका अरख’ भनिन्छ ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त नातेदारकहाँ पुर्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ।

अर्घ दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अर्घ दिने पवित्र जलाशय किनारमा चित्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्त्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेशी मुलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मुलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेपछि छठपर्व साझा पर्व बन्दै गएको मिथिला क्षेत्रका बुद्धिजीवी बताउँछन् । पर्वमा सबै धर्म, संस्कृति सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ ।

मिथिलामा शारदीय र बासन्ती गरी वर्षमा दुई पटक छठ पर्व मनाउने परम्परा छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने शारदीय (कैतकी) र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने बासन्ती (चैती) छठ पर्वको विधि र आवश्यक सामग्री भने एकै प्रकारका छन् ।

तराईमा शारदीय छठजति बासन्ती छठ मनाउने चलन भने छैन । यद्यपि पछिल्ला केही दशकयता बासन्ती छठको रमझम पनि बढ्दै गएको छ ।

सूर्य उपासनाको यो पर्वले हर मनोकाङ्क्षा पूरा गर्ने विश्वास गरिन्छ । सूर्य र सूर्य पत्नी षष्ठीको उपासना गरिने यो व्रतको प्रभावले सन्तान सुख र आरोग्यता प्राप्त हुने जनविश्वास छ । खासमा व्रतको प्रभावले चर्मरोग नहुने र भएकाहरु चाँडै निको हुने मैथिल जनविश्वास रहेको छ ।

यो पर्व परम्परा द्वापर युगमा श्रीकृष्णका छोरा साम्वले चर्मरोगबाट निको हुन प्रारम्भ गरेका विश्वास गरिन्छ । बासन्ती छठ बासन्ती नवरात्रभित्रै पर्ने भएको हुँदा देवी र सूर्य उपासनाको पर्व एउटै पक्षमा सँगसँगै पर्ने गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.