नेपाललाई आगामी पाँच वर्षसम्म जीटूजी मोडलमा मल दिन भारत सहमत

७ बैशाख ७८, बुधबार

८ वैशाख, काठमाडौं । नेपाललाई आगामी पाँच वर्षसम्म जीटूजी (सरकार–सरकार) मोडलमा रासायनिक मल उपलब्ध गराउन भारत सहमत भएको छ ।

नेपालले दुई देशबीच जीटूजीमा मल खरिदका लागि गरेको प्रस्तावमा भारतले सहमति जनाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

भारतले पठाएको जीटूजी मल खरिदको सहमतिको पत्र सोमबार आफ्नो हातमा परेको मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले अनलाइनखबरलाई बताए ।

Advertisement

‘इतिहासमै पहिलो पटक नेपालका लागि पाँच वर्षसम्म रासायनिक मल उपलब्ध गराउन भारत तयार भएको छ । यो नेपालका लागि ठूलो उपलब्धि हो,’ सचिव कार्कीले भने ।

भारतको सहमतिअनुसार नेपालले प्रतिवर्ष दुई लाख मेट्रिकटन रासायनिक मल भारतबाट खरिद सुनिश्चितता हुने सचिव कार्कीको भनाइ छ । त्यसमा करिब ७० हजार मेट्रिकटन डीएपी र एक लाख ३० हजार मेट्रिकटन हाराहारी युरिया हुने मन्त्रालयले जनाएको छ ।

Advertisement

सहमति प्राप्त भए लगत्तै मल खरिदका लागि भारतसँग एमओयूको तयारी थलिएको मन्त्रालयले जनाएको छ । दुई देश बीचको एमओयूपछि नेपालको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र समान स्तरको भारतीय सरकारी निकायबीच सम्झौता गरिने सचिव कार्कीले बताए ।

भारतबाट खरिद गरिने मल ग्लोबल टेण्डरबाट खरिद गरिने भन्दा सस्तो, गुणस्तीय र नेपालले मागेको समयमा उपलब्ध हुनेगरी सहमति भएको उनले बताए ।

‘नेपालमा मल कारखाना नखुल्दासम्म भारतले नेपाललाई अब सहज ढंगले मल दिने सुनिश्चितता भएको छ,’ सचिव कार्कीले भने, ‘अब किसानले मल अभावमा दुःख पाउनु पर्दैन ।’

नेपालले यसअघि २०१३ मा निश्चित परिमाणमा मात्रै मल भारतबाट जीटूजीमा खरिद गरेको थियो । त्यसयता जीटूजीका लागि नेपालले पटक पटक पहल गरे पनि भारतले सहमति दिएको थिएन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top