विराटनगर,असार ६
विराटनगर १२ सिमराही टोलका सुकुम्बासीहरु विराटनगर महानगरपालिकाले बस्ती भत्काउन ३५ दिने सुचना जारी गरेपछि आन्दोलित भएका छन् ।
उनीहरुले महानगरपालिकाले सडक बिस्तारका नाममा पुस्तौदेखि बस्दै आएको आफ्नो बस्ती भत्काउन पठाएमा आफूहरु मर्न तयार रहेको तर बस्ती भत्काउन नदिने बताएका छन् ।
विराटनगर वडा नम्बर १२ सिमराही टोलका सुकुम्बासीहरु विराटनगरमहानगरपालिले बस्ती भत्काउन ३५ दिने सुचना जारी गरेकोमा आन्दोलित भएका हुन । उनीहरुले महानगरपालिको सडक बिस्तारका नाममा विना बिकल्प बस्ती भत्काउन पठाएमा आफूहरु प्रतिकारमा निस्कने र त्यसको सम्पूर्ण जिम्मा महानगरपालिकाले लिनुपर्ने बताएका छन् ।
स्थानीय जनकलाल ऋषिदेवले भने – बषौंदेखि बस्दै आएपनि सडक बिस्तार गर्दा लाग्ने जमिन भने हामीहरु दिन तयार छौँ। तर सडक बिस्तारका नाममा बिना विकल्प बस्ती नै भत्काउने तयारी गरिएपछि हामीहरु आन्दोलनमा उत्रिएका हौँ ।
उनले प्रश्न गरे हाम्रा लागि आएका स्थानीय जनप्रतिनिधीले हाम्रो वास कसरी उजाड बनाउन सक्छन ।
अर्काे कुनै विकल्प नदिई ३५ दिनको सूचना जारी गरिनु आफूहरुमाथिको अन्याय भएको उनहिरुको गुनासो छ । गत बर्ष डुबानमा परेको सुकुम्बासी बस्तीमा भर्खर मात्रै नयाँ टहरा बनाएर उनीहरु बसेका छन् ।
४० घरपरिवारमा रहेका सुकुम्बासीहरु बर्खाको समय आइसकेकाले महानगरपालिकाले भत्काउने सुचना जारी गरेसँगै चिन्तित पनि बनेका छन् । यता प्रदेश सांसद केदार कार्कीले भने महानगरपालिका र सम्बन्धीत पक्षसँग कुराकानी गरेर उचित व्यवस्थापनमा जोड दिने बताएका छन । उनले भने सडक विस्तारलाई पनि निरन्तरता दिदै मध्यमार्गी बाटो अपनाउन पहल गर्नेछु ।
विराटनर १२ का वडाध्यक्ष हिरालाल कामतले व्यवस्थापन गरेर मात्र अगाडि बढ्ने आश्वासन दिएका छन । यता महानगरपालिकाका प्रमुख भीम पराजुलीले सडक मापदण्ड भित्रका घरटहरा भत्काउने बताउदै सुकुम्बासी बस्तीको व्यवस्थापनका लागि उचित पहल गर्ने बताए ।
बषौंदेखि बस्दै आएका सुकुम्बासीहरुलाई महानगरपालिकाले व्यवस्थापन गरेर मात्रै अगाडि बढ्नु उपयुक्त हुने देखिएको उनको भनाई छ ।
रासस