सांसद चौधरीलाई रिहाइ गर्न माग

काठमाडौँ,  असार ६

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचित सांसद रेशम चौधरीलाई शीघ्र रिहाइ गर्न सरकारसँग माग गरेको छ ।

सोमबार शुरु भई आज सम्पन्न रापजा नेपालको राजनीतिक समितिको बैठकले सांसद चौधरीलगायत मधेश आन्दोलनका क्रममा विभिन्न जिल्लामा बन्दी बनाइएका नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता गरी रिहाइ गर्न माग गरेको हो ।

Advertisement

बैठकले मधेश थरुहट आन्दोलनका क्रममा भएका ज्यादतीको छानविन गरी सत्यतथ्य जनसमक्ष ल्याउन सर्वोच्च अदालतका सेवानिवृत्त न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठित उच्चस्तरीय न्यायिक छानविन आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्नसमेत माग गरेको छ ।

सरकार गठन हुँदाका बखत प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएका प्रतिबद्धताअनुसार यथाशीघ्र संविधान संशोधन गर्न बैठकले माग गरेको संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

राजपा नेपालको विधान २०७४ को धारा–२२ (१०) मा “राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय महाधिवेशन एक वर्षभित्र सम्पन्न गरिनेछ”, लेखिएकामा त्यसलाई “दुई वर्षभित्र सम्पन्न गरिनेछ” भनी संशोधन गर्ने निर्णय बैठकले गरेको छ ।

महाधिवेशन वैशाखमा 

राजपा नेपालले पार्टीको महाधिवेशन २०७६ साल वैशाख ७, ८ र ९ गते सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी अध्यक्ष मण्डलमा प्रस्तुत गरिएको पार्टीको मस्यौदा विधान परिमार्जन गरी अर्को बैठकमा पेश गर्न सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र वृशेषचन्द्र लाल सम्मिलित तीन सदस्यीय विधान परिमार्जन समिति गठन गर्ने निर्णय गरेको छ ।

राजपा नेपालका केन्द्रीय सचिव तेन्जी लामा (छत्रपति) को असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दै बैठकले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

पार्टी राजनीतिक समितिको अर्को बैठक यही असार २१ गते पुनः बस्ने छ ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top