ट्रम्प चीन पुग्दा सीले गरे भव्य स्वागत, विमानस्थलमै अँगालोमा कसे

२ मंसिर २०८३, बुधबार
Share this
723shares

२ मंसिर, काठमाण्डौ ।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको सेन्जेन पुगेका छन् । विमानबाट ओर्लने बित्तिकै चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई अँगालो हालेर न्यानो स्वागत गरेका छन् । सीले आफ्नो कार्यकालमा पहिलो पटक कुनै पनि विदेशी राष्ट्र प्रमुखलाई यसरी स्वागत गरेको यो पहिलो घटना भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

ट्रम्पको आगमनको अवसरमा विमानस्थलमा रातो कार्पेट बिछ्याएर भव्य स्वागत गरिएको छ । अमेरिकी राष्ट्रपतिको सवारी चल्ने मार्गको दायाँबायाँ सेन्जेनका स्थानीय बासिन्दाहरू स–साना समूहमा भेला भएर उनको स्वागत गरेका छन् ।

Advertisement

विश्वका तीन सर्वाधिक शक्तिशाली नेताहरूबिच हुन लागेको अभूतपूर्व शिखर सम्मेलनको तयारीस्वरूप पछिल्लो केही घण्टादेखि सहरका विभिन्न भागमा सुरक्षा र निगरानी निकै कडा पारिएको छ । अमेरिकी राष्ट्रपति बस्ने होटेलनजिकैको सडक छेउमा पर्खिरहेका एक युवाले ट्रम्पको भ्रमणले दुई देशबिचको सम्बन्ध सुधार हुने अपेक्षा व्यक्त गरे ।

उनले भने, ‘मिस्टर ट्रम्पको यो आगमन अमेरिका र चीनबीचको सेतु बन्न सकोस् भन्ने म आशा गर्दछु ।’ राष्ट्रपति ट्रम्प बस्ने बताइएको होटेलबाहिर केही स्थानीय बासिन्दाहरू भेला भएका छन् । उक्त क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षाकर्मीहरूले बटुवाहरूलाई त्यहाँ नरोकिन र भिडभाड नगर्न आग्रह गरिरहेका छन् ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै होटेलको प्रवेशद्वारमा बार (ब्यारिकेड) लगाएर आवतजावत बन्द गरिएको छ । यसअघि ट्रम्पले जापानी प्रधानमन्त्री साने ताकाइचीसँग पनि भेट गरेका थिए । जापानको विदेश मन्त्रालयका अनुसार दुवै नेताबीच मङ्गलबार फिलिपिन्सको मनिलामा आयोजित रात्रिभोजका क्रममा दुईबीच कुराकानी भएको हो ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले आयोजना गरेको रात्रिभोजमा भएको भेटमा दुवै नेताले इन्डो–प्यासिफिक क्षेत्रका विषयमा निकट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रधानमन्त्री ताकाइची पनि सेन्जेन जाँदैछिन् । प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो ।

ताइवानसम्बन्धी उनको विवादस्पद अभिव्यक्तिपछि चीनसँग पछिल्लो समय सम्बन्ध बिग्रिएको छ । जसकारण, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग औपचारिक भेटवार्ता हुनेबारे भने अन्योल रहेको बताइएको छ । यद्यपि, सञ्चारमाध्यमका अनुसार उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छोटो भेट गर्न सक्ने सम्भावना छ ।

रुसी विदेश मन्त्रालयका एक अधिकारीले भने त्यस्तो भेटबारे कुनै निर्णय नभएको बताएका छन् । जासुसीको आरोपमा रुसमा एक जापानी पत्रकार पक्राउ पर्नुका साथै जापान टोबाकोसँग सम्बन्धित सम्पत्ति जफत भएपछि पछिल्ला साताहरूमा जापान–रुस सम्बन्धमा तनाव बढेको छ ।

यता भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबीचको सम्बन्ध सुधार्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा व्यक्त गरेका छन् । सम्मेलनलाई सम्बोधन गर्दै उनले बिहीबार हुने तीन देशका नेताबीचको पहिलो त्रिपक्षीय बैठक अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे ।

पुटिनले वर्तमान विश्वमा बढ्दो सैन्य तथा राजनीतिक जोखिम र विश्व अर्थतन्त्रमा देखिएको विभाजनका बीच आपसी सहकार्य र संवादको आवश्यकता रहेको बताए । उनले भने, ’विभाजनभन्दा एकता, अधिपत्यभन्दा समानता, अलगावभन्दा साझेदारी र अल्टिमेटमभन्दा संवादलाई प्राथमिकता दिनुपर्छ ।’

यसैबीच, सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेपछि मस्कोमाथि पश्चिमी मुलुकहरूले लगाएका आर्थिक प्रतिबन्ध असफल भएको पुटिनले दाबी गरे । रुसले ती प्रतिबन्धको सामना गर्दै सम्मानपूर्वक आफ्नो अवस्था कायम राखेको उनको भनाइ थियो ।

यस्तै उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसंग पनि उच्चस्तरीय वार्ता गरेका छन् । यता चिनियाँ राष्ट्रपति सीले एआई र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्ने बताएका छन् । सी र पुटिनबीच ऊर्जा, वित्तीय सहकार्य तथा युक्रेन र उत्तर कोरियासम्बन्धी विषयमा पनि छलफल भएको रुसी अधिकारीहरूले जनाएका छन् ।

दुई नेताले पश्चिमा देशहरूको व्यापार संरक्षणवाद, एकपक्षीय नीति र आर्थिक प्रतिबन्धको आलोचना गरेका छन् । सीले स्वतन्त्र तथा खुला व्यापारको पक्षमा उभिनुपर्ने बताएका छन् । त्यस्तै, पुटिनले पश्चिमा देशहरूले लगाएका प्रतिबन्धले रुसलाई कमजोर बनाउन नसकेको दाबी गरेका छन् ।

ट्रम्प, सी र पुटिनबिच बिहीबार हुने त्रिपक्षीय भेटवार्तामा युक्रेन युद्ध, इरानसँगको अमेरिकी युद्ध, व्यापार, एआई र आणविक हतियारलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ । आफ्नो सम्बोधनमा सीले विश्व व्यापार संगठन (डब्लूटीओ) लाई केन्द्रमा राखेर नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

‘हामीले नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई दृढतापूर्वक कायम राख्नुपर्छ । स्वतन्त्र र खुला व्यापार तथा लगानीलाई समर्थन गर्नुपर्छ र विश्वव्यापी औद्योगिक तथा आपूर्ति शृङ्खलाको स्थिरता सुनिश्चित गर्नुपर्छ,’ उनले भने ।

ट्रम्प प्रशासनले चीनमाथि थप भन्सार शुल्क लगाउने र प्रविधि क्षेत्रमा प्रतिबन्ध विस्तार गर्ने नीति अपनाइरहेका बेला सीको यस्तो अभिव्यक्ति आएको हो । अमेरिकाले हालै एनभिडियाजस्ता कम्पनीका अत्याधुनिक एआई चिपमा चीनको पहुँच थप सीमित गर्ने निर्णय गरेको छ ।

यसले अमेरिका र चीनबिच कायम नाजुक व्यापारिक समझदारीलाई थप जटिल बनाउन सक्ने देखिएको छ । चीनले पनि अमेरिकी कदमको प्रतिवाद गर्ने चेतावनी दिएको छ । सीले चीनले आफ्नो औद्योगिक क्षेत्र र नयाँ प्रविधिको विकासमा लगानी जारी राख्ने बताए ।

साथै, अन्य देशलाई पनि लाभ पुग्ने गरी प्रविधि विकास गर्ने, भन्सार शुल्क घटाउने र आफ्नो बजार थप खुला बनाउने उनको भनाइ थियो । एसिया ग्रुपका डिजिटल मामिलासम्बन्धी प्रमुख जर्ज चेनका अनुसार सीको सन्देशले विश्व दक्षिणका धेरै देशलाई आकर्षित गर्न सक्छ ।

यसले अमेरिकाको प्रविधि रणनीतिभन्दा फरक रूपमा आफ्नो नीतिलाई प्रस्तुत गर्ने बेइजिङको प्रयासलाई पनि बल पु¥याउनेछ । सीपछि सम्मेलनलाई सम्बोधन गरेका रुसी राष्ट्रपति पुटिनले पश्चिमा शक्तिहरूलाई ‘परम्परागत आधिपत्यवादी शक्ति’ को संज्ञा दिए ।

उनले युरोप अपमानजनक पतनको अवस्थामा रहेको दाबी गर्दै युक्रेनमाथि आक्रमणपछि रुसमाथि लगाइएका प्रतिबन्ध उल्टै प्रत्युत्पादक बनेको बताए । ‘आर्थिक प्रभुत्व र अप्रत्यक्ष दबाबका परम्परागत उपायहरूले आफ्नो प्रभावकारिता गुमाउँदै गएका छन् । तिनको डर देखाउने शक्ति पनि कमजोर भएको छ,’ पुटिनले भनेका छन् ।

उनका अनुसार प्रतिबन्ध, भन्सार शुल्क र निर्यात नियन्त्रणले केही अवरोध सिर्जना गर्न सक्ने भए पनि प्रतिस्पर्धी देशको आर्थिक विकास रोक्न वा अर्थतन्त्र ध्वस्त पार्न सक्दैनन् । युक्रेनले रुस र क्रिमियालाई जोड्ने महत्त्वपूर्ण केर्च सडक पुल ध्वस्त पारेको घटनापछि पुटिनको यस्तो अभिव्यक्ति आएको हो ।

उक्त पुल रुसको चार वर्षदेखि जारी युद्धका लागि रणनीतिक महत्त्वको मानिन्छ । यता ट्रम्पको एसिया भ्रमण अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि भएको पहिलो भ्रमण हो । यसबिच एनभिडियाका संस्थापक जेन्सेन हुआङ र चीनसँग सम्बन्धित एक शंकास्पद जासुसबारे आरोपले पनि दुई देशबिचको तनाव थप बढाएको छ । य

द्यपि, विश्लेषकहरूले ट्रम्प र सीबिचको भेटपछि अमेरिका–चीन सम्बन्ध तुलनात्मक रूपमा स्थिर रहने अपेक्षा गरेका छन् । उनीहरू डिसेम्बरमा अमेरिकाको मायामीमा हुने जी–२० सम्मेलनमा पनि भेट्ने कार्यक्रम छ । यसैबीच, ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग पनि चीनमा भेटवार्ता गर्ने इच्छा व्यक्त गरेका छन् ।

तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले त्यस्तो भेटको पुष्टि गरेका छैनन् । ट्रम्पले फिलिपिन्समा क्वाड समूहका अस्ट्रेलिया, जापान र भारतका नेताहरूसँग पनि भेट गरेका थिए । यसैक्रममा आसियान सम्मेलनमा सहभागी करिब दुई हजार प्रदर्शनकारीले अमेरिकी नीतिको विरोध गरेका थिए ।

अमेरिकी व्यापार नीतिप्रति असन्तुष्टि जनाउँदै चिनियाँ प्रधानमन्त्री ली छ्याङ, ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले व्यापारिक निर्भरता घटाउनुपर्ने धारणा राखेका थिए । यसैबीच, ट्रम्पले १० महिनाभित्र दुर्लभ खनिज उत्पादनमा अमेरिकाले चीनलाई उछिन्ने दाबी गरेका छन् ।

वासिङ्टनले सिङ्गापुर, मलेसिया, थाइल्यान्ड र इन्डोनेसियामा उन्नत एआई चिप्स निर्यात गर्न विशेष अनुमति लिनुपर्ने नयाँ नियम पनि सार्वजनिक गरेको छ । सिङ्गापुरले भने आफ्ना कम्पनीलाई विश्वसनीय रूपमा चिप्स उपलब्ध गराउने उपाय खोजिरहेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top