ओलीले बुनेको सपनाः एमाले फेरि सरकारमा जाने,मुल ढोकाबाटै छिर्ने

२ मंसिर २०८३, बुधबार
Share this
785shares

२ मंसिर, काठमाण्डौ ।

Advertisement

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज फेरि बालेन्द्र शाह नेतृत्वको सरकार, जेनजी आन्दोलन, गृहमन्त्री सुधन गुरुङदेखि आईजीपी मनोज केसीसम्मको कडा आलोचना गरेका छन् । उनीहरुको आलोचना गर्दै ओलीले आफू फेरि पक्राउ पर्न सक्ने आशंका पनि व्यक्त गरेका छन् ।

आफूसंगै शेरबहादुर देउवा र प्रचण्डसमेतलाई सरकारले पक्राउ गर्ने योजना बनाएको उनको आरोप छ । यसो भनिरहँदा उनी सबैभन्दा बढी गृहमन्त्री र आईजिपीविरुद्ध आक्राशित देखिएका थिए । पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै ओलीले गृहमन्त्रीले सबैलाई पक्रने भनेकोमा आपत्ति जनाएका हुन् ।

Advertisement

उनले आफू, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुन्ने भन्नु ठट्टा हो भन्दै प्रश्न गरे । “आईजीपी हुने बित्तिकै होसमा हो कि बेहोसमा बोलेको सुन्छु म । आईजीपीको बोली यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु,” ओलीले भने, “केपी ओली, शेरबहादुर, प्रचण्ड मजाकका पात्र हुन यिनका ?”

यस्तै ओलीले आफूहरू पञ्चायती, राणाशासन, निरंकुशताविरुद्ध आफूहरू लडेको स्मरण गराए । “६ महिनाको जागिर खाने सिपाहीले भन्छ, फलानालाई थुन्दिन्छु, ठट्टामजाक गरेको हो ?,” उनले भने, “तिनी जन्मिनु अगाडिदेखि आन्दोलनमा देशका लागि बाजी थापेर हिँडिराखेका छौँ । मजाक गर्ने हामीमाथि ?”

सबै थुनिए गृहमन्त्री र अरु को–को बाँकी रहन्छन् भन्ने उनको प्रश्न छ । “गृहमन्त्री भन्छन– फाइल खोल्दैछ, पख्नुस् । सबै थुनिन्छन् । कसलाई भनेको हो । सबै थुनिन्छन् भने उनी र को–को बाँकी रहन्छन् ?” ओलीले गृहमन्त्रीले आतंकको राज चलाएको टिप्पणी गरे । “अन्त लगाउ त्यस्ता आतंक, अन्त फिजाउँ । नेकपा एमाले यस्ता हावादारी कुराबाट हल्निेवाला छैन । एमाले दया, माया ,कृपाले बाँचेको पार्टी होइन्,” भन्दै ओली कड्किएका थिए ।

ओलीको यो दाबीमा भने कुनै सत्यता नभएको नेपाल प्रहरीले प्रष्ट पारेको छ ।नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले त्यस्तो कुरा आईजीपीले सोच्न पनि नसकिने बताएका छन् । उनले आइजीपी भएको छोटो समयमा केसी संगठनका आन्तरिक कार्यक्रमबाहेक कुनै औपचारिक वा अनौपचारिक कार्यक्रम वा भेटघाटमा नगएको र त्यस्तो कुनै अभिब्यक्ति नदिएको बताएका छन् ।

प्रवक्ता काफ्लेले प्रहरी संगठनप्रति नकारात्मक नभइदिन सबैमा आग्रह गरेका छन् । यस्तै ओलीले एमाले फेरि सरकारमा जाने दाबीसमेत गरेका छन् । एमालेले देश बनाउने बताए । “एमाले फेरि सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ । देश बनाउँछ नेकपा एमालेले,” उनले भने, “विकासका काम जुन अघि सारेको छ फेरि अघि बढाउँछ ।”

उनले समृद्ध नेपाल, सुखी नेपालीको सपना देख्न नछोड्ने बताए । ओलीले एमाले देशका भविष्य भएको दाबी गरे । ओलीले एमाले हुतिहाराको पार्टी नभएको दाबी गरे । वर्तमान सरकारले मानवीयता समेत बिर्सिएको ओलीको आरोप छ । आफू तत्काल अप्रेसन नगर्दा ज्यान जाने अवस्था भएका बेला हिरासतमा राखिएको भन्दै आक्रोश पोखे ।

“मलाई तत्काल अप्रेसन नगर्दा ज्यान नै जाने अवस्था थियो । तर, मलाई हिरासतमा राख्दा अप्रेसन नै ढिला हुन पुग्यो,” चैत १४ को पक्राउ सम्झँदै उनले भने, “त्यतिबेला ज्यान तलमाथि भएको भए के हुन्थ्यो ? के यिनका लागि हामी किरा फट्याङ्ग्रा हौँ ?” उनले देशभरबाट पक्राउ र हिरासतको विरोध गरेका कार्यकर्तालाई धन्यवाद दिए ।

यस्तै नयाँ आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । जुनसुकै बेला आन्दोलनमा जानुपर्ने बताए । सरकारको दमनविरुद्ध चुप लागेर नबस्ने सुनाए । “शान्तिपूर्ण ढंगले सडकमा उत्रिँदा पनि दमन चलाइन्छ भने एमाले चुप लागेर बस्ने छैन । संख्या केही हजारमा दरले निस्कियो होला त्यतिखेर अब हरेक ठाउँमा लाखका दरले निस्किन्छ,” ओलीले भने ।

उनले एमाले ‘हुतिहारा’को पार्टी नभएर जिउँदा मान्छेको पार्टी भएको बताए । “आन्दोलनको तयारी हालतमा बस्नुस् । सरकारले कुनै पनि समय प्रतिशोध कसैमाथि लिन सक्छ । कसैलाई गिरफ्तार, हमला आक्रमण गर्न सक्छ,” ओलीले भने ।

यस्तै ओलीले प्रधानमन्त्री वालेन्द्र शाहले योजनाबद्ध ढंगले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएको आरोप लगाए । बोली ‘चिप्लिएको’ हुन्थ्यो भने संसद्को रेकर्डबाट हटिसक्ने तर्क गरे । उनले कहिलेका लागि प्रमाण राख्न खोजेको हो भन्दै प्रश्न गरे ।

“कि सभामुखले यो सही कुरा हो भन्नुपथ्र्यो । यो सही कुरा बोलेको छ, रेकर्डबाट हटाउन मिल्दैन भन्नुपथ्र्यो,” ओलीले भने, “भन्न पनि नसक्ने, रेकर्डबाट नहटाउने । यो कहिलेका लागि के प्रमाण राख्न खोजेको ?” गएको जेठ १७ गते प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति हटाउन विपक्षीले माग राख्दै आएका छन् ।

यस्तै ओलीले सम्मानित अदालतले प्रतिनिधि सभालाई संवैधानिक नभएको जस्तो व्यवहार देखाएको बताए । बेलाबेला अदालतलबाट संसद् सम्बन्धी आफूखुसी गरेको फैसलालाई स्वीकार्दै आएको औंल्याउँदै अहिले किन चुप भनेर अदालतप्रति प्रश्न गरे ।

उनले भने, ’प्रतिनिधि सभाको विघटन सम्बन्धी सम्मानित अदालतबाट आफू अनुकूल फैसला भइरहेको देखेकै हो। हामीले स्वीकार्दै आएका हौं। अहिले सम्मानित प्रतिनिधि सभाको मुद्दा अदालतमा छ। तर अदालतले प्रतिनिधिसभा संवैधानिक होइन जस्तो गरेको छ। कुनै फैसला गर्दैन।’

यता एमालेका कार्यकर्ता गिरफ्तार गरिएको भन्दै त्यसको मूल्य एकदमै महँगो पर्ने चेतावनी समेत दिए । आफूहरूलाई असंवैधानिक हिसाबले हटाएको भन्दै ओलीले एमाले संवैधानिक बाटोबाट फेरि सत्तामा पुग्ने दाबी गरे । एमाले नै देशको विकास गर्ने नायक भएको बताए ।

ओलीले भने,‘एमाले यो देशको भविष्य हो। राष्ट्रियताको रक्षा गर्ने रक्षक हो। यो देशको विकास गर्ने नायक हो। त्यसकारण एमाले दृढताकासाथ अगाडि बढ्नेछ।’ उनले संवैधानिक बाटोबाट फेरि पनि सरकारमा जाने उल्लेख गरे। उनले राष्ट्रिय भेला संकल्पको भेला भएको टिप्पणी गरे ।

ओलीले भने,‘ओलीले देशमा एकपछि अर्को निर्वाचन आइरहेको बताए। उनले भने,‘स्थानीय निकायको निर्वाचन आउँदैछ। त्यसपछि प्रदेशको निर्वाचन, त्यसपछि राष्ट्रिय सभा,राष्ट्रपतिको निर्वाचन आउँदैछ। गत वर्ष अलिकति पराजय भोग्नुप¥यो। हाम्राविरुद्ध भित्र र बाहिरी तत्वले हमला गरे। आगामी दिनमा नयाँ ढंगले अगाडि बढ्नुपर्छ ।’

सरकारले कहीँ पनि थिति र विधिमा काम नगरेको बताउँदै ओलीले सरकारको अराजकताविरुद्ध आन्दोलित हुन अपिल समेत गरे । ओलीले वर्तमान सरकार स्वेच्छाचारी बन्दै गएको जनाउँदै देश आतंकको छायामुनि चलेको टिप्पणी पनि गरेका छन् ।

देशमा असंवैधानिक र गैरकानुनी गतिविधि बढेको बताए। उनले विगतमा हिंसात्मक, अलोकतान्त्रिक तथा आतंककारी गतिविधिमार्फत सत्ता उलटफेर गर्ने, आगजनी, लुटपाट र तोडफोडबाट लोकतान्त्रिक तथा संवैधानिक व्यवस्था कमजोर बनाउने काम भएको जिकिर गरे ।

त्यस्ता गतिविधिलाई वैधानिकता दिन निर्वाचनको मञ्चन गरिएको उनको आरोप छ । उनले हाल भय र त्रासको वातावरणको सरकार चलिरहेको बताए। सरकार दमनकारी र प्रतिशोधी व्यवहारसहित फासिवादतर्फ उन्मुख भएको उनको भनाइ छ ।

‘अहिले देश राजनीतिक रुपमा एउटा आतंकको छायामुनि, भय र त्रासको वातावरण मुनि, असंवैधानिक, गैरकानूनी कृयाकलापहरूको पेलाईमा स्वेच्छाचारी शासनको अन्तरगत देश चलिरहेको छ,’ ओलीले भने, ‘फासिवाद तर्फ दमनकारी प्रतिशोधी व्यवहार अगाडि बढिरहेको छ।’

आर्थिक अवस्था निरन्तर खस्किँदै गएको उल्लेख गर्दै उनले सरकारसँग ठूलो रकम थन्किएर बसे पनि पीडित जनताले राहत समेत पाउन नसकेको बताए । ‘आर्थिक हिसाबले देश लगातार अधोगतितर्फ गइरहेको छ। सामाजिक हिसाबले सामाजिक मूल्य मान्यता खस्कीरहेका छन्। समाज अत्यन्तै उल्टो बाटोतिर धकेलिँदै गएको छ,’ ओलीले भने, ‘सांस्कृतिक हिसाबले हाम्रो भाषा माथि, हाम्रो संस्कृति माथि, हाम्रो सभ्यता माथि चर्को हमला भईरहेको छ।’

सरकार जनताप्रति उत्तरदायी नभएको उनको आरोप छ। ‘खर्बौ पैसा जम्मा भएको छ। पीडितहरू दुःखमा पिल्सीरहेका छन्। त्यो पैसाको पनि प्रयोग भएको छैन,’ उनले भने । उनले शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था पनि कमजोर बन्दै गएको बताए। अस्पतालबाट उपचार नपाएर सडकमा प्रसूति हुनुपर्ने अवस्था आएको ओलीको भनाइ थियो ।

‘शिक्षा बिग्रिदो छ। स्वास्थ्य स्थितिमा सुधार भइरहेको छैन। अस्पतालबाट बाहिर निकालेर सडकमा प्रसव वेदना सहँदै शिशुलाई जन्म दिनुपर्ने अवस्थामा महिलाहरू गुज्रिनु परेको छ,’ उनले भने । यसैबीच ज्येष्ठ नागरिक सुविधाअन्तर्गत हालै कैदमुक्त भएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पनि पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका थिए ।

कैदमुक्त भएपछि उनी पहिलोपटक यसरी औपचारिक कार्यक्रममा देखिएका हुन् । उनलाई कार्यक्रममा झुटामुद्दा लगाएर जेल हालिएका पूर्व सचिव भन्दै कार्यक्रममा स्वागत गरिएको थियो । तर रायामाझी झुट्टा मुद्दा नभई नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय पाएका रायमाझी ६५ वर्ष उमेर पूरा भएपछि २५ प्रतिशत कैद छुट पाएर गत कार्तिक २६ मा डिल्लीबजार कारागारबाट छुटेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top