आङकारा, असार ८
यसै हप्ता निर्वाचन हुन गइरहेको टर्कीमा आक्रमणको योजना बनाइरहेका भनिएका इस्लामिक स्टेट्सका संदिग्ध १४ जना आतङ्ककारी शुक्रबार पक्राउ परेका छन् ।
राज्यद्वारा सञ्चालित सञ्चारमाध्याम आनाडोलुले सो जानकारी दिएको छ । टर्कीको राजधानी आङ्कारा शहरको आवासीय भवनमा बसिरहेका ती १४ व्यक्ति सवै विदेशी नागरिक भएको बताइएको छ ।
आगामी आइतबार हुनलागेको निर्वाचनमा आफ्नो पार्टीको बहुमतको लागि पुनःजनादेश प्राप्त गर्न त्यहाँका राष्ट्रपति रेसे तायिप इर्डोगानको प्रयास जारी रहेको छ ।
यस निर्वाचनसँगै हाल यहाँको सुरक्षामा पनि निकै नै कडाइ गरिएको समाचारमा जनाइएको छ ।
सन् २०१५ र २०१६ मा आइएस र कुर्दिस आतङ्ककारीले नै दावी गरेका आक्रमणमा परी सयौँ व्यक्तिको मृत्यु भएको छ ।
रासस