२ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो आर्थिक वर्षको बजेट संसदबाटै ल्याउने सङ्केत गरेका छन् ।
आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसद् जिउँदो रहेको भन्दै आउँदो आर्थिक वर्षको बजेट संसदबाटै आउने सङ्केत गरेका हुन् ।
बजेट अध्यादेशबाट आउँछ भन्ने शङ्का छ नि भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले ‘पार्लियामेन्ट जीवित छ’ भन्ने संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।
केपी शर्मा ओली संविधानको धारा ७६ (३) अनुसार संसद्को सबैभन्दा ठूलो दलको नेताको हैसियतमा वैशाख ३१ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले अब ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
आफ्नै पार्टी नेकपा एमालेभित्रको विवादसँगै संसद्को बजेट अधिवेशन आह्वान गर्न ढिलाइ हुनुले सरकारले फेरि पनि संसद् विघटन गरी अध्यादेशबाट बजेट ल्याउने हो कि भन्ने आशङ्का राजनीतिकवृत्तमा गर्न थालिएको छ ।