विराटनगर,असार १०
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश एक कार्यालयले रोजगारदाताबीच भेटघाट कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित एक निजी होटलमा आयोजना गरिएको कार्यक्रममा रोजगार प्रदायक उद्योगीहरुलाई नयाँं श्रम ऐन तथा नियमावलीका बिषयमा जानकारी गराइएको छ ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपमहानिर्देशक हंसराज पाण्डेले श्रम ऐन र नियमावलीमा भएका ब्यवस्थाहरुको बिषयमा उद्योगीहरुलाई जानकारी गराए ।
उनले आफ्ना उद्योग र संस्थालाई थप बलियो बनाउन उद्योगीहरु नयाँ श्रम ऐन र नियमावलीका बिषयमा जानकार हुनुपर्ने बताए ।
कार्यक्रममा सुनसरी,मोरङ,झापा र उदयपुर सहित प्रदेश एकका विभिन्न जिल्लाका उद्योगी र रोजगारदाता संस्थाहरुको उपस्थिति थियो ।
कार्यक्रममा श्रम कार्यालय विराटनगर प्रमुख मणिनाथ गोप, रोजगारदाता परिषदका प्रमुख नारद पोखरेल र नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश एकका अध्यक्ष नरेन्द्र खड्का लगायतले बोले । कार्यक्रममा तीन दर्जन बढी उद्योगीहरुको सहभागिता थियो ।