एसईईको रिजल्टमा लापरबाही, फेरियो हजारौं विद्यार्थीको नतिजा

एसईईको रिजल्टमा लापरबाही, फेरियो हजारौं विद्यार्थीको नतिजा

काठमाडौँ, असार ११

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ ।

परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट आइतबार विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज (स्तरीकृत अंक) भन्दा आज ग्रेड पोइन्ट एभरेज भटाभट बढ्न थालेपछि उक्त प्राविधिक त्रुटि पत्ता लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले पर्याप्त, तयारी, रुजु र पुनरावलोकन नगरी परीक्षाफल प्रकाशित गर्दा प्राविधिक गडबडी भएको पाइएको हो तर कार्यालयले कूल विद्यार्थीको नतिजा के कति बढोत्तरी भयो भन्ने नयाँ तथ्यांक सार्वजनिक गरेको छैन । यसबारे थप अध्ययन र छानबिन हुने देखिएको छ ।

प्राविधिक कमजोरीबारे पनिका कार्यालयका अधिकारी र कर्मचारीले पछिल्लोमा जुन अंक देखिन्छ, त्यही आधिकारिक र सक्कली हो भन्न थालेका छन् । पछिल्लो ग्रेड सिटअनुसार सबै ग्रेडमा विद्यार्थीको स्तर सामान्य वृद्धि भएको बुझिएको छ ।

नयाँ स्थितिमा आज सार्वजनिक गरिएको तथ्यांक नै हेरफेर हुने देखिएको छ । ए ग्रेड आउनेको ए प्लस, बी प्लस आउनेको ए ग्रेडसम्ममा हेरफेर भएको ठानिएको छ । यसबारे बुझ्न खोज्दा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीसँग सम्पर्क हुन सकेन ।

कतिपयले विद्यार्थीले परीक्षाफल आएलगत्तै आफूले सोचेजति ग्रेड नभएको चिन्ता आइतबार गरेका थिए भने सोमबार नयाँ विवरण आएपछि प्रशन्नता व्यक्त गरेका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले नयाँ सफ्टवेयरमा प्राप्तांकलाई जोड्ने सूत्र हाल्दा गल्ती भएको पाइएको र विस्तृत के भएको बुझ्न बाँकी रहेको बताए । उनले यसबारे आवश्यक अध्ययन भइरहेको बताए।

परीक्षा उपनियन्त्रक गेहनाथ गौतमले पनि सफ्टवेयरले कमाण्ड नगरेकाले शुरुमा केही कम ग्रेड आएको र पछिल्लो नजिताले विद्यार्थीलाई न्याय भएको दाबी गरे ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यार्थीले नयाँ र सक्कलीस्तरसहितको पछिल्लो नतिजा पाएको हो भने उनीहरुका लागि राम्रो हो तर प्रणाली त्रुटिपूर्ण हुनु कार्यालयको कमजोरी हो भने । उनले भने, “बरु एक दिन ढिलो गरेको भए हुन्थ्यो, यसरी त्रुटिपूर्ण विवरण सार्वजनिक हुनु गलत हो ।”

संवत् २०७४ को एसइईमा नियमिततर्फ चार लाख ५१ हजार ५३२० विद्यार्थी सहभागी भएका थिए ।
रासस

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.