विराटनगर,असार ११
विश्वकप फुटबलमा आजबाट समूहका तेस्रो चरणका खेल सुरु हुँदैछन् । आज समूह ए र बी का चार खेल हुनेछन् । नेपाली समयअनुसार बेलुकी पौने ८ बजे सुरु हुने खेलमा समूह ए का रुस र उरुग्वे तथा साउदी अरेबिया र इजिप्ट भिड्नेछन् ।
सामरा एरिनामा हुने रुस र उरुग्वेबीचको खेलले समूह विजेताको टुंगो लगाउनेछ । दुबै टोली सुरुवाती दुई खेल जित्दै राउण्ड अफ सिक्सटिनमा पुगिसकेका छन् ।
सोही सयममा भोल्गोग्राद एरिनामा साउदी अरेबिया र ईजिप्ट आमने सामने हुनेछन् । सुरुवाती दुई खेल हार्दै समूहबाटै बाहिरिएका यी दुई टोलीबीचको भिडन्त प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । आज राति पौने १२ बजे समूह बि का दुई खेल हुनेछन् ।
सारान्स्क सहरको मोरदोभिया एरिनामा पोर्चुगल र ईरान भिड्नेछन् । दोस्रो चरणमा पुग्न पोर्चुगललाई यो खेलमा कम्तिमा बराबरी गर्नुपर्नेछ । इरानका लागि भने खेल जित्नैपर्ने दबाब छ ।
समूहको अर्काे खेलमा स्पेन र मोरक्को भिड्नेछन् । मोरक्को समूह चरणबाटै बाहिरिएको छ भने स्पेन ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तोमा समूहबाट अर्काे चरणमा उक्लिन स्पेनका लागि यो खेल कम्तिमा बराबरीमा सकाउनुपर्नेछ ।