११ जेठ, बर्दिया।
‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्ने नारासहित बर्दिया अक्सिजन बैंकको अभियान सुरु गरिएपछि बर्दियामा अहिले अक्सिजन अभाव भएको छैन ।
दोस्रो चरणको कोरोना महामारी फैलिन थालेपछि र निषेधाज्ञा लागू भएको एक हप्तासम्म बर्दियाका आठ वटै पालिकाबाट प्रमुख जिल्ला अधिकारीको अनुमतिमा पालो कुरेर बाँकेको नेपालगञ्जबाट अक्सिजन सिलिण्डर ल्याउनुपर्थ्यो । अहिले भने बर्दिया अक्सिजन बैंक स्थापना भएपछि त्यो समस्या हटेको छ ।
बर्दियामा अक्सिजन बैंकको स्थापना गरेको झन्डै एक महिनामा बर्दियाका समाजसेवी युवाले एक सय सत थान सिलिन्डर जोहो गरेका छन् । बर्दियाको सदरमुकाम गुलरिया नगपालिकाका युवा व्यवसायी, सामाजिक कार्यकर्ताले बैंक स्थापना गरेपछि बिरामीलाई निःशुल्क सिलिन्डर उपलब्ध हुन थालेको छ ।
कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट फैलिएसँगै अक्सिजन अभाव भइरहेका बेला बर्दियाका उद्योगी, व्यवसायी, समाजसेवीको सक्रियता तथा जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको समन्वयमा अक्सिजन बैंकको सुरुवात गरिएको हो ।
बर्दिया अक्सिजन बैंक सञ्चालनका लागि देश र विदेशबाट अहिलेसम्म झन्डै २५ लाख रुपैयाँ जम्मा भइसकेको छ । अहिले सङ्कलित रकमबाट अक्सिजन सिलिन्डर खरिद गर्न थालिएको छ ।