कोरोना बढेपछि काबुलसहित १६ प्रान्तमा दुई हप्ताको लागि विद्यालय बन्द

कोरोना बढेपछि काबुलसहित १६ प्रान्तमा दुई हप्ताको लागि विद्यालय बन्द

१५ जेठ, एजेन्सी ।

कोभिड–१९ सङ्क्रमण बढेपछि अफगानिस्तानको राजधानी काबुलसहित अन्य १६ प्रान्तमा दुई हप्ताको लागि विद्यालय बन्द गर्ने निर्णय अफगानिस्तान सरकारले गरेको छ ।

कोभिड–१९ लाई रोकथाम गर्ने उद्देश्यले उक्त घोषणा गरिएको टोलो न्यूजले अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जानकारी गराएको छ ।

कोभिड–१९ नियन्त्रणका लागि काबुल, गजनी, हेलमण्ड, कान्दाहर, लोगर, नानगर, परवान, मैदान वार्ड, पञ्जशीर, बल्ख, लघमान, बद्दाशान, कपिसा, कुंदलगायतका क्षेत्रमा सरकारी तथा निजी विद्यालयहरू, विश्वविद्यालयहरू र तालिम केन्द्रहरू बन्द गरिएको हो ।

मन्त्रालयका अनुसार गत वर्ष कोभिड–१९ को पहिलो लहर आउँदा एक दिनमा सबैभन्दा धेरै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९१५ रहेकोमा दोस्रो लहरबाट शुक्रबार ९७७ जना सङ्क्रमित भएपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय लिएको बताइएको छ ।

सरकारले २४ घण्टाको अन्तरालमा तीन हजार ८०० नमूनामा कोभिड–१९ परीक्षण गर्दा ९७७ जना सङ्क्रमित भेटिएको हो । उक्त अवधिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका १८ व्यक्तिको मृत्यु भएको र १५७ जना निको भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका अनुसार अफगानिस्तानमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ७० हजार १०७ पुगेको छ भने दुई हजार ८९९ सङ्क्रमितको मृत्यु भएको छ । यहाँ कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्र्ख्या ५७ हजार ११९ रहेको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.