१७ जेठ, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खुलालुमा निर्माणाधीन पक्की पुल चाँडो सम्पन्न गर्न निर्माण कम्पन्नीलाई निर्देशन दिएका छन् ।
आइतबार बेलुका कर्णाली करिडोरअन्तर्गत खुलालुमा पुगेर निर्माणाधीन पुलको अनुगमन गरेका उनले निर्माण कार्य जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
पुल निर्माणको कार्य तीव्र गतिमा भइरहे पनि कोरोना महामारीका कारण यस बीचमा सुस्ताएको पाइएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार कम्पनीमा काम गर्ने एक इन्जिनीयर कर्णाली नदीमा खसेर र अर्को कर्मचारी कोभिडले मृत्यु हुँदा काम सुस्ताएको हो ।
प्रदेशको समृद्धिको जीवनरेखाका रुपमा लिइएको कर्णाली करिडोर सुर्खेत–हिल्सासम्म जोड्ने गरी पुल निर्माण कार्य भइरहेको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि सुर्खेत–खुलालु जोड्ने सडक दुई लेन बनाउन रु एक अर्ब २० करोड बजेट विनियोजन गरेको छ ।
कालीकोटको शुभकालिका र नरहरिनाथ गाउँपालिका जोड्ने कर्णाली नदीमाथि निर्माण हुन थालेको पुलको कार्यसम्पन्न हुन सके सुर्खेत–हुम्ला सिधा मार्ग जोडिने छ ।