२० जेठ, काठमाडौं ।
नेपालमा कोरोनाभाइरसको ‘नेपाली प्रजाति’ भेटिएको दाबीसहित बेलायती सञ्चारमाध्यमले समाचार सार्वजनिक गरेपछि नेपाल सरकारले बेलायत सरकारसँग जानकारी माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इमेलमार्फत् सो दाबीबारे बेलायतको स्वास्थ्य नियामक निकाय (आइएचआर)सँग जवाफ मागेको हो । ‘हामीले बेलायतको आइएचआरलाई पत्र लेखेका छौं र जवाफको प्रतीक्षा गरिरहेका छौं’ मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले भने ।
डेलीमेल अखबारले नेपाल भेरिएन्टको कारण बिदा प्रभावित भएको दाबी गर्दै समाचार लेखेको छ । सो भेरिएन्टको कारण बेलायती नागरिकको छुट्टी चुनौतीपूर्ण भएको भनिएको छ ।
तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।