विराटनगर,असार १५
हरेक वर्ष झै यो वर्ष पनि विभिन्न कार्यक्रम गरी मोरङमा धान दिवस मनाइएको छ । धान दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले धान राप्दै दिवसको शुभकामना दिए।
धान दिवसको अवसरमा मन्त्री घिमिरेले समेत धान रोपेका छन । एक नम्बर प्रदेशमा मध्यअसारसम्ममा ११ प्रतिशत धान रोपाई भएको छ । ५१ हजार ४ सय ९३ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको क्षेत्रिय कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।
गत वर्ष पनि यो बेलामा ११ प्रतिशत नै रापाइ भएको कार्यालयले जनाएको छ । सबैभन्दा बढी पहाडी जिल्ला भोजपुरमा ५० प्रतिशत रोपाई भएको छ भने सबैभन्दा कम सप्तरीमा १ दशमल ५ प्रतिशत मात्रै धान रोपाई भएको निर्देशनालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले जानकारी दिए।
उच्च पहाडी जिल्लामा १७ प्रतिशत, मध्य पहाडी क्षेत्रमा २२ प्रतिशत र तराई क्षेत्रमा लगभग ८ प्रतिशत धान रोपाई भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार धनकुटामा ८, तेह्रथुममा ३५, संखुवासभामा १५, भोजपुरमा ५०, झापामा ५, इलाममा १०, पाँचथरमा १९, ताप्लेजुङमा १७, सुनसरीमा २०, मोरङमा ५, सप्तरीमा १ दशमलव ५, सिरहामा ५, उदयपुरमा ८, खोटाङमा १५, ओखलढुंगा १५ र सोलुखुम्वुमा ३५ धान रोपाई भएको छ ।