चीनबाट ४० लाख डोज भेरोसेल खोपको सुनिश्चितता

चीनबाट ४० लाख डोज भेरोसेल खोपको सुनिश्चितता

९ असार, काठमाडौं ।

कोभिडविरुद्धको खोप भेरोसेल उत्पादक चिनियाँ कम्पनी सिनोफार्मले नेपाललाई आगामी अढाई महिनामा ४० लाख डोज खोप उपलब्ध गराउने सुनिश्चित गरेको छ । सरकारले यसअघि नै चीनबाट खोप खरिद गर्ने निर्णय गरिसकेको छ ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार नेपालले आफ्नो अनुकूलताअनुसार जुन महिनाभित्र १० लाख, जुलाईमा २० लाख र अगस्टमा १० लाख डोज खोप खरिद गर्न सक्ने गरी सिनोफार्मले आश्वस्त तुल्याएको छ ।

‘चिनियाँ कम्पनी ३० जेठमै १० लाख डोज खोप उपलब्ध गराउन तयार थियो,’ दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले टेलिफोनमा भने, ‘सिनोफार्मले आगामी अगस्टसम्ममा हामीलाई ४० लाख डोज खोप उपलब्ध गराउने सुनिश्चित गराएको छ ।’ त्यसपछि खोपको प्रेसर पनि कम हुने भएकाले आवश्यकताअनुसार थप खरिद गर्न सकिनेछ ।

सिनोफार्मको सर्तअनुसार खोप खरिदपूर्व उसलाई भुक्तानी गर्नुपर्छ । ‘मन्त्रिपरिषद्ले खोप खरिद गर्ने निर्णय गरिसकेका कारण भुक्तानी हुन्छ । ४० लाख खोप सुनिश्चित हुनु पनि हाम्रा लागि ठूलै राहत हो,’ एक कूटनीतिक अधिकारीले भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.