बाढी, पहिरोबाट घरमा क्षति पुगे अस्थायी आवास निर्माणका लागि तत्काल रकम पठाइने

१७ असार ७८, शुक्रबार

१८ असार, काठमाडौं ।

Advertisement

बाढी, पहिरोबाट घरमा क्षति पुगेकालाई अस्थायी आवास निर्माणका लागि तत्कालै रकम पठाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्ष मनसुनबाट प्रभावित भएकाहरूका लागि अस्थायी आवास बनाउनका लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको बताए ।

Advertisement

उनले भने, ‘यो वर्षको मनसुनबाट क्षति भएको हकमा तत्कालै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर लगत सङ्कलन गर्न र घरको क्षतिको विवरण पठाउन माग गरेका छौँ । त्यो प्राप्त हुनेबित्तिकै अस्थायी आवासका लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइसकेका छौँ ।’

उनले गएको वर्षको मनसुनबाट क्षति भएका २० जिल्लाका तीन हजार तीन सय ४९ वटा घर पुनर्निमाणका लागि १९ करोड ९७ लाख ७३ हजार सात सय ५० रुपैयाँ प्रथम किस्ताबापतको रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापनको कोषमा पठाएको पनि उनले जानकारी दिए ।

Advertisement

यस वर्ष जेठ २८ गतेसम्म सुरु भएको मनसुनका कारण देशभरका ३२ जिल्लामा प्रत्यक्ष प्रभाव परेको उनले बताए । मनसुनबाट आएको विपत्तिबाट अहिलेसम्म ३३ जनाको ज्यान गएको, ३० जना बेपत्ता भएको र ३२ जना घाइते भएका प्रवक्ता अर्यालले बताए ।

बाढी पहिरोबाट चार सय ८३ निजी घर पूर्ण रूपमा क्षति भएको, एक सय १२ घरमा आंशिक क्षति भएको, ३६ सरकारी कार्यालयमा क्षति भएको तथा ६ सामुदायिक विद्यालयको भवनमा क्षति पुगेको उनले जानकारी दिए ।

त्यस्तै २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल, दुई वटा वित्तीय संस्थाको भवनमा क्षति भएको पनि उनले बताए । प्रवक्ता अर्यालले विपदबाट प्रभावितहरूका लागि खोज, उद्धार, राहत तथा पुनर्स्थापनाको काम गरिएको बताए ।

मौसम पूर्वानुमान महाशाखासँग समन्वय गरी विपद् आउन सक्ने ठाउँमा प्राधिकरणले पूर्वसूचना प्रणालीलाई चुस्त दुरुस्त राखिएको उनले बताए । नौ जिल्लाका ३६ पालिकामा प्रभावमा आधारित पूर्वसूचना प्रणाली जडान गरिएको पनि उनले उल्लेख गरे ।

अहिले सुनसरी, मोरङ, पर्सा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, ललितपुर, तनहुँ, लमजुङ र बाजुराका सडक खण्ड बन्द भएका र सडक डिभिजन कार्यालय, पालिकाले बन्द सडक खुलाउने काम भइरहेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top