विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडा मर्न थालेपछि थपियो चुनौती

७ साउन ७८, शुक्रबार

विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडाको असल बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन निरन्तर गैँडा मर्न थालेपछि चुनौती थपिएको छ । गैँडा संरक्षणका लागि विज्ञहरूले स्थानान्तरण विकल्प हुनसक्ने सुझाएका छन् ।

गत वर्षको साउनदेखि हालसम्म चितवन राष्ट्रिय निकुञ्जमा ३४ वटा गैँडा मरेका छन् । चार दिनअघि मात्र चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडाको दुई महिनाको एउटा बच्चा र एउटा वृद्ध भाले गैँडाको प्राकृतिक कारणले मृत्यु भएको सूचना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको थियो । यस लगत्तै विज्ञहरूले गैँडाको संरक्षणमा चुनौती थपिएको भन्दै चितवनपछि अरू बासस्थानको विकास तत्काल गरिहाल्नुपर्ने सुझाव दिएका छन् ।

गैँडाको विषयमा विद्यावारिधि गर्नुभएका डा. नरेश सुवेदीका अनुसार चितवन गैँडाको असल बासस्थान कहलिएको ठाउँ भए पनि पछिल्ला दिनमा गैँडाको मृत्युदर बढ्दै गएकाले चितवनको विकल्पमा अरू ठाउँलाई पनि गैँडा बासस्थानका रूपमा विकास गर्नुपर्ने स्थिति देखिएको छ ।

Advertisement

गत वर्ष चितवनमा मात्र २८ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् भने चारवटा गैँडा चोरी सिकारीबाट मारिएका छन् । चितवनमा हरेक वर्ष नारायणी नदीको बाढीले बगाएर, एकापसमा लडेर, दलदलमा भासिएर, बाघको आक्रमणमा परेर मृत्यु हुने दर वृद्धि भइरहेको छ । अर्काेतर्फ विचरणका लागि भारततर्फ जाने कारणले पनि चिवतनमा जति मात्रामा गैँडाको सङ्ख्या देखिनुपर्ने हो, त्यो सङ्ख्या नदेखिने गरेको विज्ञहरूको भनाइ छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top