जो पनि डाक्टर !

जो पनि डाक्टर !

चितवनको राप्ती नगरपालिका–१२ स्थित यौरालीटारमा लोथर स्वास्थ्य चौकी छ। बिरामी त्यति नजाने भएकाले सुनसान प्रायः हुन्छ। तर, त्यही स्वास्थ्य चौकीबाट सय मिटर दूरीमा रहेको मेडिकलमा जँचाउन पालो पर्खिनुपर्छ। मेडिकलमा बिहीबार पनि एक जना व्यक्ति स्टेस्थोस्कोप लिएर बिरामी जाँचिरहेका थिए। उनी भनिरहेका थिए– ‘छाती हल्का खराब छ, यो एन्टिबायोटिक हो। यहाँसम्म पानी हालेर हल्लाएर खुवाउनु ठीक हुन्छ।’

बिरामीका आफन्त उनलाई ‘डाक्टर’ ठानिरहेका थिए। तर, उनी त स्वास्थ्य चौकीकै कार्यालय सहायक कृष्णबहादुर तामाङ पो रहेछन्। बिरामी र उनीहरूका आफन्त कार्यालय सहायक तामाङलाई डाक्टर ठानेर आफ्ना स्वास्थ्य समस्या सुनाइरहेका थिए। तामाङ सेवाग्राहीका कुरा सुन्थे अनि बिरामी जाँच्थे।

तामाङले बिरामी जाँच्ने मात्रै होइन, औषधि पनि दिने रहेछन्। यसबारे उनले भने, ‘पढाइ त ८ कक्षा हो। मैले २०५१ सालदेखि स्वास्थ्य चौकीमा काम गरेँ। त्यहाँ सरहरूले सिकाएर बिरामी जाँच्न जानेको हुँ। मैले जाँचेर धेरैलाई ठीक बनाएको छु।’

स्वास्थ्य चौकीमा लामो समय काम गरेको आधारमा आफूलाई अनुभव भएको उनले बताए। निमोनिया, रुघाखोकी, ज्वरोका बिरामी निको पार्ने गरेको उनको भनाइ छ।

‘रुघाखोकी, ज्वरो, निमोनिया, पखालाको उपचार मैले गर्छु। यो बाहेकका बिरामीलाई मैले सकिनँ भने सरलाई बोलाउने अनि उहाँहरूले रिफर गर्दिनुहुन्छ’, उनले भने, ‘हामी पालैपालो आएर चलाउँछौं। अहिले स्वास्थ्य चौकीमा दुई जना मात्रै भएकाले मलाई पठाउनुभएको हो।’

खासमा उनको काम बिहान स्वास्थ्यचौकी खोल्ने, सरसफाइ गर्ने र पानी भर्ने हो। त्यसपछि अर्को ड्युटी रहेछ, मेडिकलमा गएर बिरामी जाँच्ने। स्वास्थ्य चौकीकै कर्मचारीले उनलाई त्यता पठाउँछन्। मेडिकलमा बिरामी आएको खबर आउनासाथ उनी दौडिहाल्छन्। जँचाउन पुग्नेहरूलाई उनी डाक्टर हुन् कि पियन भन्ने थाहा हुँदैन। बिरामीसँग सोधपुछ गरेर अनुमानका भरमा औषधि दिन्छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.