काठमाडौँ : इचङ्गुनारायणमा निर्माण गरिएको सार्वजनिक भवन सञ्चालन विधि यकिन नहुँदा समस्या उत्पन्न भएको छ । सात वर्षअघि २०७१ सालमा मुख्य गरी बागमती नदी किनारलगायतमा बसोबास गरेका सुकुम्बासी तथा सहरी गरिबको बसोबासका लागि भनेर भवन निर्माण गरिएको थियो तर अहिले सो भवन अलपत्र बनेको छ ।
सुकुम्बासी र सहरी गरिबका लागि भनेर निर्माण गरिएको मुलुकको यो पहिलो सार्वजनिक भवन समेत हो । करिब छ रोपनी क्षेत्रफलमा निर्मित सो सार्वजनिक भवनमा सुकुम्बासी र सहरी गरिबहरूलाई कसरी बसोबास गराउने विषयमा अझै पनि सहरी विकास मन्त्रालय टुङ्गोमा पुग्न सकेको छैन । निर्माण सम्पन्न भएकै वर्ष ठेकेदार कम्पनीले सहरी विकास मन्त्रालयलाई भवन हस्तान्तरण गरेको थियो ।
सुन्दर, सभ्य र व्यवस्थित सहरको निर्माण तथा सहरी गरिब जथाभावी सार्वजनिक स्थलमा बसोबास नगरुन् भन्ने उद्देश्यसहित निर्माण गरिएको सो भवन सम्बन्धित निकायले समयमा निर्णय नलिँदा लक्ष्यअनुसार उपलब्धि हासिल हुन सकेको छैन ।
सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले अहिलेसम्म सुकुम्बासी तथा सहरी गरिबको पहिचान हुन नसकेको बताउनुभयो । आवश्यक मापदण्ड तथा कार्यविधिको अभावमा भवन सञ्चालनमा आउन नसकेको उहाँले बताउनुभयो ।,यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।