सरकारले देशभर आठवटा कोरोनाविरुद्धको खोप भण्डारण गृह निर्माण गरेको छ । खोपको सहज र सरल व्यवस्थापनका लागि सरकारले सातवटै प्रदेशमा खोप भण्डारण गृह निर्माण गरेको हो । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागले सातवटा प्रदेशमा एक–एकवटा र बाराको पथलैयामा केन्द्रीय गरी आठवटा खोप भण्डारण गृह निर्माण गरेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल छोटो समयमा तोकिएकै समय सीमाभित्र कोरोनाविरुद्धको खोप भण्डारण गृह निर्माण गरिएको बताउनुभयो । ६ करोड ६० लाख रुपियाँको लागतमा निर्माण गरिएको उक्त भण्डारण गृहमा तत्कालका लागि कोरोनाविरुद्धको खोप भण्डारण गरिने भए पनि पछि अन्य खोप पनि भण्डारण गर्न सकिने प्याकुरेलले बताउनुभयो ।
विभागले बाराको पथलैयामा, प्रदेश–१ को विराटनगर, प्रदेश–२ को जनकपुरधामस्थित मुजेलिया, वागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवलस्थित तामनगर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा केन्द्रीय खोप भण्डारण गृह निर्माण गरिएको जनाएको छ ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा मधुसूदन रायमाझीले लेखेका छन् ।