एजेन्सी ः थाइल्याण्डको एक गुफामा फसेका १२ जना बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्धारमा खटिएका एक उद्धारकर्मीको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार ३८ वर्षीय समन कुननको मृत्यु भएको हो । उनी गुफामा फसेकाहरुलाई राहत सामग्री र्पुयाएर फर्किने क्रममा बेहोस भएका थिए ।
उनको बहोस अवस्थामा मृत्यु भएको बीबीसीले जनाएको छ । समन कुनन थाइल्याण्डको पूर्व सैनिक हुन् । गुफामा बच्चाहरु फसेको थाहा पाएपछि उनी उद्धारकर्मीको टोलीमा सामेल हुन आएका थिए ।स्थानीय डेपुटी गभर्नरले आफ्नो इच्छाले राहत र बचाउको काममा मद्दत गर्न आएका एक पूर्व सैनिकको गएराति अबेर मृत्यु भएको पत्रकारहरुलाई जानकारी दिएका छन ।
उत्तरी थाइल्याण्डको एक गुफामा बाढीको कारण १२ दिनदेखि फसेका १२ जना बालक र उनीहरुको फुटबल प्रशिक्षकलाई सुरक्षित रुपमा बाहिर निकाल्ने योजनाअनुसार अहिले काम भइरहेको छ । यी सबै २३ जुनको दिन साँझ फुटबल अभ्यास गरेपछि उत्तरी थाइल्याण्डको एक गुफा हेर्न भनेर गएका थिए ।
तर बाढीको पानीका कारण सबै जना गुफाभित्रै थुनिन पुगेका थिए । उनीहरुलाई बाहिर निकाल्न चार महिनासम्म लाग्नसक्ने थाइल्याण्डको सेनाले जनाएको छ ।