लण्डन, असार २६
बेलायतमा यहाँका दुई जना शक्तिशाली मन्त्रीले सोमबार राजिनामा गरेका छन्। प्रधानमन्त्री थेरेसा मेको मन्त्रिमण्डलका दुई मन्त्रीको राजीनामापछि उनले तत्कालका लागि राजनीतिक चुनौतीको सामना गर्नुपर्ने देखिएको राजनीतिक विश्लेषकको भनाइ छ ।
युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्तागर्ने जिम्मेवारी पाएका मन्त्री डेभिड डेभिसले सोमबार मध्यान्ह आफ्नो पदबाट राजीनामा दिएका थिए। सोमबारै केही समयको अन्तरालमा विदेशमन्त्री बोरिस जोनसनले पनि राजीनामा दिएपछि प्रधानमन्त्री मेका सामु चुनौती तेर्सिएको विश्लेषण गर्न थालिएको छ ।
बेलायतले युरोपेली संघ (इयु) छोडेपछि पनि उनीहरूसँग निकट व्यापार सम्बन्ध राख्ने मेको योजनासँग मतभेतको कारण ती मन्त्रीले राजीनामा दिएको बताइएको छ । डेभिसको राजीनामाले बे्रक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पर्ने अनुमान भइरहेको अवस्थामा पुनःजोनसनको पनि राजीनामाले प्रधानमन्त्री मेको ब्रेक्जिटसम्बन्धी भावी योजना नै अप्ठ्यारोमा पर्न सक्ने विश्लेषकको भनाइ रहेको छ ।
जोनसनले राजीनामा गरेपछि उनको ठाउँमा स्वास्थ्यमन्त्री जेरेमी हन्टलाई नियुक्ति गरिएको छ । सोमबार अकस्मात बेलायतमा यसरी राजनीतिक परिवर्तन भएको हो । बेलायतले सन् २०१९ को मार्चमा युरोपेली संघबाट बाहिरिँदै छ । तर दुवै पक्षले त्यसपछि व्यापारबारे के गर्ने भन्ने विषयमा सहमति जनाउन बाँकी नै रहेको बताइएको छ ।
रासस










