तीजमा भीड नगर्न सुझाव

काठमाडौँ: बुधबार दर खाएसँगै चार दिने तीज पर्व सुरु भएको छ । हिन्दुको महान् चाड हरितालिका तीजको व्रत बस्न अघिल्लो दिन दर खाने प्रचलन छ । यद्यपि कोरोना महामारी रहेकाले तीजको दिनमा भीडभाड नगर्न चिकित्सकको सुझाव छ ।

तीजको दिन निराहार व्रत बस्ने भएकाले त्यसका लागि शक्ति प्राप्त गर्न अघिल्लो साँझ पौष्टिक तìव भएका खानेकुरा खाने गरिन्छ । माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायम रहेका कारण धेरै महिलाले सजगताका साथ तीज मनाउनुपर्ने जनस्वास्थ्य तथा पोषणविद् डा. अरुणा उप्रेतीले बताउनुभयो ।

चाडपर्व मनाउनुपर्छ, रमाइलो पनि गर्नुपर्छ तर कुनै पनि नियम वा स्वास्थ्यको मापदण्डहरूलाई बिर्सनु हुँदैन । डा. उप्रेतीको दर खाँदा स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने तìव नखान तथा अखाद्य वस्तु, रङ हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल नखान आग्रह गर्नुहुन्छ । सजावटमा राखिएका मिठाई तथा फलफूलभन्दा घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन उहाँको सुझाव छ ।

यता शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले तीज भन्दैमा कोरोना नलाग्ने भन्ने हुँदैन त्यसैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने जोड छ ।

नेपाल सरकारले पूर्ण रूपमा निषेधाज्ञा खोले पनि कोरोनाको नयाँ भेरियन्टको जोखिम घटेको छैन उहाँले भन्नुभयो, अहिले पनि कोरोना सङ्क्रमितहरू रहेकै छन् भने सबैले पूर्ण रूपमा खोप पनि प्राप्त गरेका छैनन् त्यसैले आफै सजक हुनुपर्छ । सकेसम्म भीडभाड भएको ठाउँमा जानुहुँदैन र बिनामास्क कहीँ कतै नजान पनि उहाँको सुझाव छ ।

विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको ज्योतिषी विशाल गौतमले जानकारी दिनुभयो ।

महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमासमेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।

पछिल्ला वर्षहरूमा तीजका नाममा उच्छृङ्खलता र तडक–भडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा ल्याएको छ ।

गौतमले दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुने जानकारी दिनुभयो ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Scroll to Top