२४ भदौ, काठमाडौं ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी हुन् ।
उपाध्यक्ष सुमारसहितको टोलीले अध्यक्ष नेपाल, नेताहरु प्रमेश हमाल र गंगालाल तुलाधरसहितको टोलीसँग एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भेट गरेको एक नेताले जानकारी दिए ।
भेटवार्तामा सुमारले एमसीसी अनुमोदन प्रक्रिया बढाउन आग्रह गरेकी थिइन् । जवाफमा नेपालले यसबारे सत्ता गठबन्धनमा छलफल भैरहेको र एमसीसीबारे साझा दृष्टिकोण बनाएर प्रचलित कानून अनुसार अघि बढाउने जवाफ दिएका छन् ।
नेपालले भेटमा एमसीसीका कतिपय प्रावधानमा जिज्ञासा राखेका थिए । उपाध्यक्ष सुमारले बुधबार नै यसबारे जवाफ दिएको र अमेरिका खुला संवादका लागि तयार रहेको बताएकी थिइन् ।
बिहीबार काठमाडौं आएकाे उपाध्यक्ष सुमारको टोलीले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको थियो । काठमाडौंको चारदिने भ्रमणमा आएकी सुमारले प्रधानमन्त्री र अर्थमन्त्रीसहित सबै दलका नेताहरुलाई भेट्ने कार्यक्रम छ ।