दुई दिनसम्म पश्चिमका केही स्थानमा भारी वर्षा हुने

दुई दिनसम्म पश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० असार

अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज र भोलि (आइतबार) देशको पश्चिमी तथा अन्य केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको हो ।

आज दिउँसो देशभरि नै सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा र पश्चिमका केही स्थानमा भारी वर्षा हुनेछ । त्यसैगरी, राति पनि देशभर नै बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि (आइतबार) दिउँसोको समयमा देशभरि नै बदली रही देशको पश्चिमी भूभागका साथै मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ भने मध्य र पूर्वी तराईका एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको छ ।

असार ३२ गते देशभरि नै बदली रही देशको मध्य र पश्चिमी भूभागका साथै पूर्वी पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ भने पूर्वी तराईका एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज ओखलढुङ्गामा ४६, ताप्लेजुङमा २६, पोखरामा १२, जुम्लामा ११, धनकुटामा छ, डडेल्धुरामा चार र दिपायलमा दुई मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा १.२ मिलिमिटर वर्षा भएको छ ।

आज काठमाडौँको अधिकतम तापक्रम ३०.५ र न्यूनतम ताफक्रम २०.८ डिग्री सेल्सियस रहेको छ । महाशाखाले मनसुन सक्रिय भएसँगै करीब दुई सातादेखि दैनिकजसो मनसुन पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आएको छ । मनसुनी वर्षा अझै केही दिन जारी रहने अनुमान गरिएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.