स्थानीय सरकार नै उत्प्रेरित गर्दैछ वैदेशिक रोजगारीका लागि युवालाई

१ असोज, महोत्तरी ।

Advertisement

सरकारले वैदेशिक रोजगारबाट फर्किएकाहरूलाई विशेष प्याकेजहरू ल्याएको समाचार पढेपछी तीन वर्षको कष्टपूर्ण विदेशको बसाइलाइ बिट मार्दै महोत्तरी बर्दिबास–३ का गणेश सुवेदी स्वदेश फर्किए । तर, स्वदेश फर्किएपछि उनले सोचेजस्तो भएन । कृषिबाट जीविकोपार्जन गर्ने उद्देश्यले स्वदेश फर्किएका सुवेदीले स्थानीय सरकारसँग कयौँ पटक सहयोगका लागि हारगुहार गरे, तर सुनुवाइ भएन ।

उनी बस्ने सम्बन्धित् वडाका वडाध्यक्ष राजन ढुंगानाले आफुहरूसँग वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई कृषिमा उत्प्रेरित गर्ने कुनै कार्यक्रम नभएको बताएपछि सुवेदी थप चिन्तित बने ।

Advertisement

वैदेशिक रोजगारबाट फर्केकलाई बिना धितो ऋण दिने, स्वरोजगारका लागि विशेष प्राथमिकतामा राख्ने, कृषि अनुदान प्रदान गरी कृषि कर्ममा उत्प्रेरित गर्नेजस्ता सरकारले योजनाहरू ल्याएको बताए पनि कार्यान्वयनमा ल्याउन नसक्दा सुवेदीजस्तै हजारौँ युवाहरू निराश बन्न थालेका छन ।

आफ्नै खेतबारीमा तरकारी उत्पादन गरी आयआर्जनको माध्यम बनाउने योजना बनाएर स्वदेश फर्किएका सुवेदी स्थानीय सरकारले देखाएको व्यवहारले चिन्तित् बने । अनुदान नै नपाए पनि विदेशबाट फर्केरकाहरू ऋण खोजेर कृषिमा कर्ममा लागे पनि अनेक समस्याहरू झेल्नुपरेको युवाहरू बताउँछन् ।

Advertisement

‘कुखुरापालन र तरकारी खेती गर्ने उद्देश्यले तीन वर्ष अगाडि आएँ । तर, उत्पादित वस्तुहरू बारीमै कुहिए, कुखुराहरू बिक्री नभएर खोरमा नै माउ बने, कति मरे, कृषिबाट केही नहुने छाँटकाँट देखेपछी अहिले फेरि विदेश नै फर्केको छु’, गौरिडाडाका ईश्वर बस्नेतले भने ।

उत्पादित वस्तुको बजार नहुनु, पर्याप्त सिँचाइको व्यवस्था नहुनेजस्ता समस्या झेलिरहँदा पनि स्थानीय सरकारले सहजीकरण गर्न नसक्नुले व्यावसायिक कृषि गर्न चाहने युवाहरू विदेश पलायन हुने बाटो रोजिरहेका छन् ।

कृषिबाट नै समृद्धि सम्भव छ भन्दै जनप्रतिनिधिहरूले ठूल्ठूला भाषण गरे पनि व्यवहारिक रूपमा भने त्यो लागू नभएको युवाहरूको ठम्याइ छ ।

महोत्तरीको १५ वटै स्थानीय तहका ९२ प्रतिशत सर्वसाधारणहरू अहिले पनि कृषिमा आश्रीत छन् । परम्परागत कृषि प्रणालीबाट माथि उठ्न नसक्दा अझै महोत्तरीमा कृषिबाट जीविकोपार्जन धान्न धौ–धौ बनिरहेको अवस्था छ ।

अहिलेसम्म व्यावसायिक कृषिबाट आफ्ना नागरिकहरूको जीवनस्तर माथि उठाउन महोत्तरीका कुनै पनी स्थानीय सरकारले योजना तथा कार्यक्रम बनाएको पाइएको छैन । स्थानीय सरकारले युवाहरूलाई उत्प्रेरित गर्ने कुनै कार्याक्रम ल्याउन नसक्नुले पनि वैदेशिक रोजगार हरेकको लागि बाध्यता बनिरहेको छ ।

एक तथ्यांकअनुसार स्थानीय सरकार बनेयता महोत्तरीमा वैदेशिक रोजगारमा जानेहरूको संख्या १० प्रतिशतले वृद्धि भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top