२ असोज, काठमाडौं ।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकाले नेपाललाई पहिलो पटक पराजित गरेको छ । ओमानमा जारी त्रिकोणात्मक सिरिज अन्तरगत शुक्रबार भएको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । योसँगै अमेरिका विश्वकप लिग २ मा लगातार ६ हारमा पूर्णविराम लगाएको छ ।
अल अमिरातमा पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर मात्र १७४ रन जोड्यो, जुन अमेरिकाले मात्र २९.३ ओभर खेल्दै ४ विकेट गुमाएर भेट्टायो ।
अमेरिकाका लागि ओपनर स्टिभन टेलरले सर्वाधिक ९२ रन बनाए । २२ रन बनाउँदा २ विकेट गुमाएको अमेरिकाको पारी उनले नै सम्हालेका थिए । उनले मोनांक पटेलसँग तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए ।
२०औं ओभरको तेस्रो बलमा टेलरको विकेट लिएका करण केसीले अर्को बलमा संजय कृष्णमूर्तिलाई शुन्यमै आउट गरे । तर नयाँम ब्याट्सम्यान जयकरण मलहोत्राले मोनांकसँग मिलेर अमेरिकालाई जित दिलाएका छन् । मोनांक ३८ र जयकरण ३६ रनमा अविजित रहे ।
नेपालका सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । त्यसअघि टस हारेको नेपालको सुरुवात नै राम्रो हुन सकेन । मात्र ५ रन जोड्दा ओपनर आसिफ शेख ३ रनमा आउट भएका थिए ।
कप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग ४९ रनको साझेदारी गरे । कुशल ३६ रनमा आउट भए । रोहित पौडेल २ रनमा आउट भए भने विनोद भण्डारीले पनि १० रन मात्र जोडे । तर डेब्युटान्ट गुल्शन झाले कप्तान मल्लसँग पाँचौं विकेटका लागि ५१ रनको अर्को महत्वूपर्ण पार्टनरसिप गरे ।
गुल्शन २८ रनमा आउट भए । कुशल मल्ल शुन्य, सोमपाल कामी २ रनमा पभेलियन फर्किँदा करण केसीले १२ रन बनाए । ४६औं ओभरको तेस्रो बलमा कप्तान मल्ल व्यक्तिगत ५५ रनमा आउट भए । सन्दीप लामिछानेले ११ रन बनाउँदा सुशन भारी २ रनमा अविजित रहे ।
अमेरिकाका लागि सौरभ नेत्राभाल्करले ४ विकेट लिँदा कायल फिलिपले ३ विकेट हात पारे । पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो ।