काठमाडौं: सात औषधि पसल निलम्बनको कारबाहीमा परेका छन् । औषधि व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गरेर साउनभित्र कारबाहीमा परेका पसलहरूको सूची सार्वजनिक गरेको हो ।
कारबाहीमा पर्ने औषधि पसलहरूमध्ये काठमाडौंका प्रवीण मेडिकल हल, नूतन फर्मा, चौलागाईं फर्मा, सर्वोच्च मेडिकल हल र ग्रिसा फार्मेसी छन् । ललितपुरको प्राकृतिक हर्वास्युटिकल्स प्रालि र पर्साको श्री भाजुरत्न फर्मा प्राइभेट लिमिटेड पनि हुन् । यी औषधि पसललाई ३० दिन निलम्बन गरिएको विभागले जनाएको छ ।
अनुमतिपत्र नवीकरण नगरेका भारतीय कम्पनीको औषधि आयात गरेकाले भाजुरत्न फर्मालाई निलम्बन गरिएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । उनका अनुसार बाँकी ६ वटा औषधि पसललाई भने तालिम तथा शैक्षिक योग्यता नभएका व्यक्तिलाई औषधि बिक्री वितरणमा राखेका कारण कारबाही गरिएको हो ।
दक्ष जनशक्तिबिना औषधी बिक्री गर्नु भनेको ठूलो अपराध भएकाले सरकारले अनुमति दिएका र तालिम प्राप्त दक्ष जनशक्तिलाई मात्र बिक्रीवितरणमा खटाउनुपर्ने केसीको भनाइ छ । ‘तालिम तथा अध्ययन नगरेका व्यक्तिलाई औषधि बिक्रीमा खटाउँदा एउटा औषधिको सट्टा अर्को दिएर स्वास्थ्यमा गम्भीर असर हुने खतरा हुन्छ, यो ठूलो अपराध हो,’ उनले भने ।
नेपालमा यस्तै गैरकानुनी काम गर्ने करिब ३ सय औषधि पसल कारबाहीमा परिसकेको विभागले जनाएको छ। एकपटक निलम्बनमा परेका औषधि पसलहरूले पटक पटक यस्तो गैरकानुनी काम गरे औषधि बिक्रीको अनुपमतिपत्र नै खारेज गर्नेसम्मको कारबाही विभागले गर्ने प्रवक्ता केसीले बताए ।
नेपालमा पटक पटक यस्ता पसललाई कारबाही गरे पनि यस्ता अपराध भइरहेको प्रवक्ता केसीले बताए । कारबाही गरे पनि औषधि ऐनमै भएको कमीका कारण यस्तो गैरकानुनी कार्यले निरन्तरता पाएको उनको भनाइ छ ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।