भरतमोहन अधिकारीकी छोरी एकीकृत समाजवादीमा

भरतमोहन अधिकारीकी छोरी एकीकृत समाजवादीमा

९ असाेज, काठमाडौँ।

एमाले नेता तथा पूर्वअर्थमन्त्री स्व. भरतमोहन अधिकारी छोरी लीमा अधिकारी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट सक्रिय राजनीतिमा आउने भएकी छन् ।

उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघको अर्थ विभाग प्रमुखको जिम्मेवारी दिइएकाे छ ।

लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवामा सक्रिय थिइन् । उनी नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरको महासचिव समेत हुन् ।

लीमाले ठूलोबुबा मनमोहन अधिकारी र बुबाले राजनीतिमार्फत गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताइन् ।

अधिकारीले भनिन्, ‘मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहनुभएको एमालेको नौ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैं बनाऔं, महिलाका नाममा घरजग्गाको स्वामित्व जस्ता एजेण्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको छ । तर मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले राजनीतिमा हामीजस्ता युवाहरूको आवश्यकता छ भन्ने बुझेर सक्रिय राजनीति गर्ने सोच बनाएकी हुँ।’

लीमा भरतमोहनका तीनमध्ये माहिली छोरी हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.