१६ असाेज, काठमाडौं ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसले एक्लै चुनाव लड्ने बताएका छन् । शनिबार काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशनको उद्घाटन समारोहमा बोल्दै थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै बहुमत ल्याउने दावी गरेका हुन् । उनले १४औं महाधिवेशनबाट पार्टीलाई सुदृढ बनाएर आगामी निर्वाचन एक्लै जित्नसक्ने अवस्थामा पुर्याउनुपर्ने पनि बताए ।
उनले भने, ‘कांग्रेसले कसैसंग मिलेर होइन, एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्न कांग्रेसलाई आवश्यक छैन । उनीहरु मिले भने पनि जित्नसक्ने कांग्रेस बनाउन पार्टीभित्र सुधारको खाँचो छ ।’
स्थानीय अधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको थापाले बताए । उनले कांग्रेसले यथास्थितिबाट मुलुकलाई नेतृत्व गर्न नसक्ने पनि बताए । उनले भने ‘अहिलेकै अवस्थाबाट हामीले देश र जनतालाई ढुक्क बनाउन सक्दैनौं । त्यसका लागि पार्टीभित्र बृहत शुद्धीकरण र सुधार गर्नुपर्छ ।’


