काठमाडौं, साउन ८
कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् ।
मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा तामाङ निकै भावुक भएका थिए । जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै उनले दुःख व्यक्त गरे ।
पत्नी उषाकला राईसँगै उपस्थित भएका उनले महिलाहरुको हक अधिकारका लागि काम गरेको आफूलाई त्यही विषयले लखेटेको सुनाए । नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य भएको दाबी गरेका थिए ।
विवादास्पद अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्याहरुलाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे ।
तर, आलोचना नरोकिएपछि यो मुद्दाले सरकार र पार्टीलाई बदनाम गर्ने भन्दै सत्तारुढ दल नेकपाले कानूनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको थियो ।