क्रिकेटमा सरकारको लगानी कम छ, तर सन्तुष्ट छौँ : ज्ञानेन्द्र मल्ल

१७ असोज ७८, सोमबार

१८ असाेज, तनहु ।

Advertisement

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटमा सरकारको कम लगानी भए पनि सन्तुष्ट गर्ने ठाउँ रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिकाले युवा परिषद् सदस्यका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा कप्तान मल्लले जे छ त्यसैमा चित्त बुझाउनुपर्नेमा जोड दिए ।

“यो भएन त्यो भएन भनेर गुनासो गर्ने होइन, जे छ त्यसैमा चित्त बुझाउँदै अगाडि बढ्नुपर्छ, समग्र खेल क्षेत्रमा लगानी कम छ”, उनले भने, “तर सरकारको लगानीप्रति सन्तुष्ट छु ।”

Advertisement

खेल क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माणमा ध्यान दिएको बताउँदै मल्लले क्रिकेट रङ्गशाला बनाउनेभन्दा पनि त्यसको मापदण्डमा पनि ध्यान दिनुपर्ने बताए ।

क्रिकेटकै कारण आज आफू यो स्थानमा रहेको बताउँदै मल्लले भने, “मलाई अहिलेसम्म जति पनि उपलब्धि हासिल भयो, सबै क्रिकेटबाटै भयो । धैर्यता, मिहिनेत र लगनशीलता भए सफलता हासिल गर्न सकिन्छ ।”

Advertisement

मल्लले हरेक युवाले आआफ्नो रुची अनुसारको काम र पेशा अवलम्बन गर्नुपर्ने बताउँदै क्रिकेट रोजेकामा आफू सन्तुष्ट रहेको बताए । सो क्रममा कप्तान मल्लले क्रिकेटका लागि आफूले गरेको सङ्घर्षका बारेमा युवामाझ अनुभव राखेका थिए ।

व्यास नगरपालिकाअन्तर्गत १८ देखि २८ वर्ष उमेर समूहका युवालाई समेटेर गठन गरिएको परिषद्का सदस्यलाई शनिबार र आइतबार अभिमुखीकरण प्रदान गरिएको हो । नगरप्रमुख वैकुण्ठ न्यौपानेले समाज विकासको अभियानमा युवालाई जोड्न चाहेको बताए । युवासँग प्रतिभा रहेकाले युवाको प्रतिभा पहिचान गरी सामाजिकीकरणको अभियानमा नगरपालिका रहेको न्यौपानेले बताए ।

नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले युवा परिवर्तनका संवाहक भएकाले युवाले आफ्नो क्षमता पहिचान गर्न सक्नुपर्नेमा जोड दिए ।

युवा अभियान्ता अपार पौडेलले युवा सधैँ सकारात्मक हुनुपर्ने बताउँदै रचनात्मक काममा युवाको सहभागिता अपरिहार्य रहेको बताए । युवा नेतृ एलिजा ढकालले अबको नेतृत्व गर्ने भनेको युवाले नै भएकाले युवाले चाहे परिवर्तन सम्भव रहेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top