काठमाडौं, साउन ९
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको निरंकुशताविरुद्ध आफुहरु जुध्न तयार रहेको चेतावनी दिएका छन् । बुधबार आयोजित वीपी स्मृति दिवसको अबसरमा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले सरकारको निरंकुशताविरुद्ध जुध्न र लड्न पार्टीका सबै नेता, कार्यकर्तालाई एकजुट भएर अघि बढ्न निर्देशन दिएका छन् ।
सरकारले तरुणदलको शान्तीपूर्ण आन्दोलनमा पञ्चायतकालीन शैलीमा नेता, कार्यकर्तामाथि दमन गरेको आक्रोश पोख्दै उनले सरकार विरुद्ध लड्न तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिए । महामन्त्री कोइरालाले सरकारको ज्यादतिविरुद्ध नडराई लेख्न पनि पार्टी निकटका पत्रकारहरुलाई आग्रह गरे ।
उपसभापति विमलेन्द्र निधिले सरकारले दुई तिहाइ दम्भका साथ अधिनायकवादी चरित्र देखाइरहेको आरोप लगाउँदै त्यसविरुद्ध लड्न पार्टीका सबै जनवर्गीय संगठनहरुलाई आग्रह गरे ।
उनले सरकार संविधानको आधारभूत मूल्य, मान्यता विपरीतका गतिविधिमा संलग्न रहेको आरोप पनि लगाए । उपसभापति निधिले शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका आफ्ना पार्टीका युवा संगठन तरुण दलका नेताहरुलाई घाइते बनाउने काम गरिएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे ।