मोतिपुर झडपमा मृत्यु हुनेका परिवारलाई लुम्बिनी सरकारले जनही एक लाख दिने

२५ असोज, बुटवल।

रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा आइतबार भएको झडपमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख किरिया खर्च दिने भएको छ । सोमबार बिहान प्रदेशका मुख्यमन्त्री, आन्तरिक मामिला तथा सञ्चार मन्त्री, सुरक्षा परिषद् लगायतको बैठकले सो निर्णय गरेको हो ।

प्रदेश सरकारले मृतकका परिवारलाई जनही १–१ लाख दिने निर्णय गरेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस सल्लाहकार मानसिंह विकले जानकारी दिए ।

आइतबार औधागिक ग्राम कब्जा गर्न खोज्ने सुकुम्बासीले प्रहरीलाई पेट्रोल बम प्रहार गरेपछि हिंसा भड्किएको थियो । त्यसक्रममा प्रहरीको गोली लागेर चार जनाको ज्यान गएको छ।

प्रेस सल्लाहकार विकले भने, ‘मोतीपुर घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही १–१ लाख दिने निर्णय भएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा घटना अध्ययन गरी सुझाव दिन कार्यदल पनि गठन भएको छ ।’

अहिले विवाद भएको ठाउँ प्रदेशले नचलाएको बताउँदै उनले औद्योगिक ग्राम नै हडप्न आएपछि प्रहरीले सुरक्षाको लागि गोली चलाएको ब्रिफिङ भएको उल्लेख गरे । आगामी दिन सो स्थानमा घटनामा थप क्षति हुन नदिन प्रहरी संवेदनशील हुने, घाइतेहरुको प्रदेश सरकारले उपचार गर्ने र सुकुम्बासीको पहिचानका लागि छिटो कार्य अघि बढाउने बैठकले निर्णय गरेको उनले जानकारी दिए ।

Scroll to Top