इंग्ल्यान्डमाथि भारतको सानदार जित

इंग्ल्यान्डमाथि भारतको सानदार जित

२ कात्तिक, एजेन्सी ।

ओपनर लोकेश राहुल र ईशान किशनको उत्कृष्ट ब्याटिङमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको छ ।

आइसिसी टि२० विश्वकप अघि आइसिसी एकेडेमी ग्राउन्ड दुबईमा भएकाे वार्मअप खेलमा जितको लागि १ सय ८९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भारतले १९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । भारतका युवा ओपनर ईशान किशन ४६ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ७० रनमा रिटायर्ट हर्ट भए । लोकेश राहुल २४ बलमा ६ चौका र ३ छक्का सहित ५१ रनमा क्याच आउट भए ।

भारतलाई ओपनर लोकेश राहुल र ईशान किशनले पहिलो विकेटका लागि ८.२ ओभरमा ८२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर मार्क वुडको बलमा मोईन अलीबाट राहुल समातिन पुगेका थिए । कप्तान विराट कोहलीलाई लियाम लिभिङस्टोनले १३ औं ओभरको चौथो बलमा आदिल राशिदबाट ११ रनमा क्याच गराए । सूर्यकुमार यादवलाई डेविड विल्लीले ८ रनमा जस बटलरबाट क्याच गराए ।

हार्दिक पान्ड्या १० बलमा २ चौका सहित १२ रनमा अविजित रहे । विकेटकिपर ऋषभ पन्त १४ बलमा १ चौका र ३ छक्का सहित २९ रनमा अविजित रहे । इंग्ल्यान्डका मार्क वुड, डेविड विल्ली र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धाारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । इंग्ल्यान्डका जोनी बेयरस्टोले ३६ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४९ रनको योगदान दिए । मोईन अली २० बलमा ४ चौका र २ छक्का सहित ४३ रनमा अविजित रहे ।

इंग्ल्यान्डलाई ओपनर जेसन रोय र जोनी बेयरस्टोले ३.४ ओभरमा ३६ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर मोहम्मद शामीले बटलरलाई १८ रनमा बोल्ड आउट गर्दै भारतलाई पहिलो सफलता दिलाए । कप्तान बटलरले १३ बलमा ३ चौका प्रहार गरे । शामीको छैटौं ओभरको तेस्रो बलमा रोय १७ रनमा जस्प्रित बुमराहबाट समातिन पुगे ।

डेविड मलान १८ बलमा ३ चौका सहित १८ रनमा बोल्ड आउट भए । मलान स्पिनर राहुल चाहरको बलमा बोल्ड हुन पुगेका थिए । शामीले १५ औं ओभरको पाँचौं बलमा लियाम लिभिङस्टोनलाई ३० रनमा बोल्ड आउट गरे । लिभिङस्टोनले २० बलमा ४ चौका र १ छक्का प्रहार गरे । भारतका मोहम्मद शामीले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराह र राहुल चाहरले १–१ विकेट लिए ।

दुबै टोलीले टि२० विश्वकप अघि तयारीको लागि वार्मअप खेल खेलेका हुन् । भारतले दोस्रो वार्मअप खेलमा बुधबार अष्ट्रेलियासँग खेल्नेछ । बुधबारनै इंग्ल्यान्डले वार्मअप खेलमा न्युजिल्यान्डसँग खेल्नेछ । भारत सुपर १२ को समूह बी र इंग्ल्यान्ड समूह ए मा छन् । भारतले विश्वकपमा आइतबार पाकिस्तानसँग खेल्नेछ । इंग्ल्यान्डले शनिवार वेस्टइन्डिजसँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.