यसरी बन्यो बैंक लुट्ने योजना

१ कात्तिक ७८, मंगलबार

मोरङ: व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि ऋणको भार बढ्दै गयो ।

झन् कोरोना सुरु भएपछि त व्यापार डामाडोल भयो । ३२ वर्षीय मुखिया ऋण कसरी चुक्ता गर्ने भन्ने चिन्तामा परे । व्यापारमा डुबेको रकम चाँडो हात पार्ने उपायको खोजीमा लागे । उनै मुखियाको योजनामा एक साताअघि मोरङमा बैंक लुटपाट भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

गत सोमबार अपराह्न मोरङको धनपालथान गाउँपालिका–४, कर्सियास्थित सिटीजन्स बैंकको शाखामा लुटपाट भएको थियो । विराटनगर–८, बलुवाहीका मुखियाले भारतका पेसेवर अपराधी ल्याएर बैंक लुटेको प्रहरीको भनाइ छ । हालसम्म पक्राउ तीनमध्ये एक भारतमा हत्याका फरार अभियुक्त हुन् । पक्राउ पर्ने मुखिया र अन्य दुईमा भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनील यादव र अररिया गोराहा–४ का ३० वर्षीय विजय सहनी छन् ।

Advertisement

भारतको विहारस्थित मावलीमा बसेर मुखियाले अपराधकर्ममा लागेका व्यक्तिसँग सम्पर्क गरी आफ्नो गिरोह बनाएका थिए । लुटिएको रकम दामासाहीले लिने सहमति रहेको मुखियाले प्रहरीसँगको बयानमा बताएका छन् । मुखियासँगको सल्लाहअनुसार लुटको १५ दिन अगाडि भारतीय अभियुक्तहरू नेपाल प्रवेश गरेर ठाउँहरू हेरी फर्केका थिए ।

‘योजना बनाएको दुई साताभित्रै पहिले एक गार्मेन्ट र त्यसपछि बैंक लुटे,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले भने । उनीहरूले पहिलो पटक पेस्तोलसहित ४ जनाको समूहमा २२ असोजमा विराटनगरको मेनरोडस्थित एक गार्मेन्ट लुटेका थिए । उक्त गार्मेन्टबाट ११ हजार रुपैयाँ र साहु एवं कर्मचारीबाट ४ मोबाइल मात्र हात लागेको थियो ।

थोरै रकम फेला परेपछि रन्थनिएका लुटेरामध्ये एकले पेस्तोलको पछाडिको भागले हानेर गार्मेन्ट सञ्चालकलाई घाइते समेत बनाएका थिए । समान पेसा भएका कारण मुखियालाई पहिलेदेखि उक्त गार्मेन्टको कारोबारबारे जानकारी थियो । ‘गार्मेन्टबाट ८-१० लाख रुपैयाँ भेटेको भए मेरो आवश्यकता पूरा हुन्थ्यो, बैंक लुट्दैनथ्यौं,’ मुखियाले प्रहरीलाई भनेका छन्, ‘त्यो दिन हामीले गार्मेन्टमा अनुमान गरेअनुरूपको रकम भेटेनौं ।’ त्यसपछि उनीहरूले गिरोहमा हतियार एवं मान्छे थपेर बैंक लुट्ने योजना बनाए । भारत गएर थप व्यक्ति र हतियार खोजेर ल्याए ।

बैंक लुटपाटअघि यो समूह धनपालथानसँग जोडिएको सीमावर्ती जहदा गाउँपालिकाको एक कृषि फार्ममा बसेको थियो । यो समूहका एक सदस्य विजय सहनी एक वर्षदेखि उक्त फार्ममा काम गरिरहेका थिए । सहनी भारतमा हत्याको आरोप फरार रहेका व्यक्ति हुन् । उनी कामदार बनेर उक्त फार्ममा बसिरहेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका अनुसार उनले गत वर्ष सामान्य झगडामा आफ्नै छिमेकी युवा शिवशंकर सहनीलाई गोली हानी हत्या गरेको आरोप छ । एसपी जीसीका अनुसार यो समूहले लुटेपछि भारततर्फ भाग्न सजिले हुने गरी मोरङका थुप्रै बैंक, पसल एवं व्यापारिक फर्मको अध्ययन गरेका थिए ।

त्यही योजनाअनुसार सिटीजन्स बैंकको शाखा लुट्ने उनीहरूले योजना बनाए । तर बैंक लुटे लगत्तै स्थानीयको सहयोगमा मुख्य योजनाकार मुखियासहित ३ जनालाई प्रहरीले लखेट्दै पक्राउ गरेको थियो । विराटनगरबाट २० किमि पूर्वमा उक्त ग्रामीण बजार पर्छ । दुवै हातमा नोटको बिटा उठाउने हतारोमा गिरोहका सदस्य रोशन यादवले बोकेको पेस्तोल चलेर सहनी घाइते भएका थिए । उनलाई लिएर भाग्ने क्रममा अरू पक्राउ परेका हुन् ।

लुटेराहरूले भाग्ने क्रममा प्रयोग गरेको को २५ प ३८९९ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ । यादवले प्रयोग गरेको कटुवा पेस्तोल र सुरक्षा गार्डमाथि प्रहार गर्दा नपडकेको एक राउन्ड गोली, घाइते सहनीबाट बरामद १ मोबाइल, घटनास्थलबाट पेस्तोलको एक राउन्ड गोली, १ खोका र घाइते सुरक्षागार्ड ३८ वर्षीय शीतल कुमालको शरीरबाट निकालिएको एक गोली पनि प्रहरीले बरामद गरेको छ ।

फरार ६ जनाको खोजी भइरहेको एसपी जीसीले बताए । ‘पर्दा पछाडि बसेर वा अप्रत्यक्ष रूपमा सहयोग गर्नेहरू पनि हुन सक्छन्,’ उनले भने । एसपी जीसीका अनुसार बैंकले नगद काउन्टर र कर्मचारी प्रवेश गर्ने द्वारमा मात्र सीसीटीभी राखेको छ, सेवाग्राही प्रवेश गर्ने ठाउँ वरिपरि हेर्नलाई सीसीटीभी छैन । बैंकले संकटका लागि ‘अलार्म’ समेत नराखेको उनले बताए । सीसीटीभी फुटेजमा सात लुटेरा बैंकभित्र र सोधपुछका क्रममा अन्य दुई बाहिर बसेको देखिएको छ । लुटेरामध्ये कसले केमा हालेर रकम लिएर गयो र एक पछि अर्को गर्दै कसलाई दिए भन्ने प्रस्ट भइनसकेको उनले बताए ।

उनका अनुसार बैंकबाट लुटेको झन्डै २४ लाख रुपैयाँ लिएर लुटेराहरूमध्येका अर्को समूह फरार छन् । ‘बैंकले लुटिएको रकम अझै यकिन गर्न सकेको छैन,’ उनले भने, ‘बैंकले प्रहरीलाई लिखित जानकारी दिने भनेको छ ।’ प्रहरीका अनुसार लुटेरा समूहमध्येका दुई जनाले सुरक्षागार्ड ३८ वर्षीय शीतल कुमालको खुकुरी खोसेपछि पेस्तोल ताकेर उनलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । प्रतिकार गर्दा पछाडिबाट अर्को लुटेराले प्रहार गरेको गोली सुरक्षागार्ड कुमालको काँधको दुवैतर्फ लागेको प्रहरीले जनाएको छ । घटनालगत्तै उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएका कुमालको अवस्था खतरामुक्त रहेको परिवारले जानकारी दिएका छन् ।

एसपी जीसीले फरार भएकालाई भारतीय प्रहरीको समेत सहयोग लिएर खोजी भइरहेको जानकारी दिए । दसैं लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत परिचालित प्रहरी टोलीहरू बेलामै घटनास्थलमा पुगेर लुटेरालाई लखेट्न सकेकाले तत्कालै पक्राउ गर्न सकिएको प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीले बताए । उक्त घटनापछि मोरङभरिको बैंक र आर्थिक कारोबारहरू हुने थलोहरूको निगरानी र अनुगमन बढाइएको छ । ‘सादा पोसाकका प्रहरी टोलीहरू समेत परिचालन गरेका छौं,’ एसपी जीसीले भने, ‘यी टोलीहरूले बैंकभित्र र बाहिर नियमित गस्ती गरिरहेको छ ।’

यसो भन्छन् घाइते सुरक्षागार्ड ?

दिउँसोको समय थियो । बैंकमा सामान्य ढंगले कारोबार भइरहेको थियो । ड्युटीमा तैनाथ सुरक्षागार्ड कुमालले सेवाग्राहीको सुरक्षा जाँच गर्दै भित्र पठाइरहेका थिए । त्यो क्रममा सरासर भित्र प्रवेश गर्ने व्यक्तिहरूलाई रोकेर के कामका लागि आएको प्रश्न गरे । माथि एउटा काम छ भन्दै बैंकको एक फन्को लगाएर उनीहरू फर्के ।

१५ मिनेटपछि उनीहरू फेरि आए । कुमालले रोक्न खोजे । वरिपरिबाट घेरेर उनीहरूमध्ये एकले कुमालको खुकुरी खोसे । अर्को एकले पेस्तोल ताके । कुमालले खोस्नै खोज्दा घम्साघम्सीका क्रममा पछाडिबाट अर्को लुटेराले प्रहार गरेको दुई राउन्ड गोली कुमालको घाँटीको दुवै छेउतिर लाग्यो । एउटा छोएर गयो भने अर्को गोली भित्रै अडकियो । उनी भुइँमा ढले । कोलाहल मच्चियो ।

‘गोली प्रहारपछि मलाई करेन्ट लागे जस्तो भयो, घटनाको ५÷७ मिनेटमै मलाई यहाँ ल्याइयो, त्यसपछि के भयो ? मलाई थाहा छैन,’ सुरक्षागार्ड कुमालले भने, ‘बैंकका कर्मचारी, धनमाल र सेवाग्राहीको सुरक्षाका लागि मैले सकेसम्मको कोशिस गरें ।’ मोरङ प्रहरीका अनुसार गोली प्रहारको दुई-तीन मिनेटभित्र लुटेराहरूले बैंक लुटे । मुख नछोपी र मास्क नलगाई आए पनि लुटेराहरूमध्ये कसैलाई पनि आफूले चिन्न नसकेको कुमालले बताए । ,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top