प्राकृतिक विपत्तिबाट सुदूरपश्चिममा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, २२ अझै बेपत्ता

प्राकृतिक विपत्तिबाट सुदूरपश्चिममा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, २२ अझै बेपत्ता

७ कार्तिक, बैतडी ।

बाढिपहिरो तथा प्राकृतिक विपत्तिबाट बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ। गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आजसम्म यस प्रदेशमा ३७ जनाको मृत्यु भएको हो।

बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको छ। बझाङमा १२, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक÷एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

विपद्मा परी यस प्रदेशमा २२ जना बेपत्ता रहेका छन्। बझाङमा १९ र बैतडी, डोटी, कैलालीमा एक÷एक बेपत्ता रहेका हुन्। यस्तै विपद्मा परी १७ जना घाइते छन्। डोटीमा ११, डडेलधुरा र बैतडीमा दुईरदुई र बझाङ र बाजुरामा एक÷एक जना घाइते भएका हुन्।

विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशुचौपाया मरेका छन् भने ६० बढी बेपत्ता छन्। पहिरोका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरुपमा क्षति पुगेको छ। बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ।

वर्षाका कारण डडेल्धुरामा केआइसिंह राजमार्ग, दार्चुलामा महाकाली राजमार्ग, बझाङमा जयपृथ्वी राजमार्ग अवरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बन्द भएको टेलिफोन र इन्टरनेट सेवा भने सुचारु भइसकेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.