टुसाएको धानबाली देखाएर राहत माग्दै किसान

८ कात्तिक, कैलाली ।

‘राहत दिने कोही छन्कि हजुर, यो तस्बीर सञ्चार माध्यममा हाल्दिनु पर्‍यो, केही दिनअघिको डुबानका कारण खेतको पूरै धानबाली टुसाएर बिग्रिएपछि कैलालीको जानकी गाउँपालिकाका किसान भोजराज भण्डारीले धनगढी पुगेर गरेको आग्रह हो यो ।

आफ्नो खेतमा बिग्रेर टुसाएको धानबालीको मोबाइलमा खिचिएको तस्बीर देखाउँदै उनले दुःखेसो गरे, ‘यस्तो नसोचेको विपत्ति पहिलो पटक अनुभव भयो, धानबाली नष्ट हुँदा धेरै किसानमा यसपाली भोकमरी हुने देखियो ।’

Advertisement

दक्षिण पूर्वी उक्त गाउँपालिकामा रहेको छ बिघा खेतमा काटेर सुकाइएको धान भित्र्याउन नपाउँदै भएको वर्षाले बाली भिजेर टुसाएपछि उनी यतिबेला राहतको खोजीमा छन् ।

कैलालीको गोदावरी गाउँपालिकाका किसान भोजराज बडूको डुबानमा परेको दश कठ्ठाखेतको पूरै धानबाली पनि टुसाएको छ । ‘कात्तिक महिनामा पनि यसअघि कहिल्यै नदेखिएको डुबान, बाढीपहिराको बितण्डा देख्नुपर्यो’, उनले दुःखेसो सुनाए, ‘घरमा केही परिमाणको पुरानो धान छ, तर त्यसले वर्षभरी खान पुग्ने देखिँदैन, राहतका लागि वडा कार्यालयमा निवेदन दिने तयारीमा छु।’

Advertisement

उनीहरुको जस्तै पीडा यतिबेला सुदूरपश्चिम प्रदेशका धेरै किसानको छ । पीडाबीच धेरै किसान भिजेर खेतमै टुसाएको धानबाली थन्क्याउनमा लागेका छन् । ‘खेतमा भएको डुबानले धानबाली लगाउँदा गरिएको लगानी खेर गयो’, अर्का किसान मनिराम चौधरीले भने, ‘मेहनत र परिश्रम खर्च भएकाले कुहिएको धान परालसहित सडे पनि बाली नसिमोट्दा चित्त बुझ्दैन।’

केही दिनअघिको अविरल वर्षासँगै भएको डुबानका कारण प्रदेशमा धानबालीमा पुगेको क्षतिपछि किसान चिन्तित हुँदै राहतको पर्खाइमा छन् । प्रदेशमा झण्डै २५ हजार हेक्टर जग्गाको धानबाली नष्ट भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुमान छ ।

‘डुबानका कारण प्रदेशमा भएको क्षतिको एकीन विवरण स्थानीय तहसँग समन्वय गरेर सङ्कलन गरिरहेका छौं’, मन्त्रालयका प्रवक्ता गोकुलप्रसाद बोहराले भने, ‘खेतमा पानी जम्दा धानबालीलाई मात्र असर गरेका छैन, आउने हिँउद याममा गरिने गहुँबालीको खेती पनि प्रभावित हुने देखिएको छ ।’ डुबानका कारण तोरीबाली र तरकारी बालीमा समेत असर पारेको छ ।

क्षतिबाट प्रभावित हुनेका लागि राहत कार्यक्रम दुई प्याकेजमा ल्याएर वितरण गर्ने मन्त्रालयको योजना छ । ‘अहिलेको डुबानले धान, तोरी र तरकारी बालीमा पुगेको क्षतिबाट प्रभावितलाई राहत दिनुपर्ने देखिएको छ’, बोहराले भने, ‘हिँउदे यामको गहुँखेती गर्नेलाई पनि मल, बीउ, रसाायनिक मलको सहज आपूर्ति र सहुलियत पनि दिनुपर्ने देखिएको छ।’

बालीमा क्षति पुगेका किसानलाई प्रति बिघा रु आठ हजारका दरले राहतबापत् नगद दिन सकिने मापदण्ड मन्त्रालयको छ । अहिले पुगेको क्षतिको मात्राको अवस्थालाई मध्यनजर गरी यो मापदण्ड हेरफेर हुन सक्ने बताइएको छ । प्रभावित किसानलाई राहत के कति दिने, कसरी दिने भन्ने विषयमा मन्त्रालयले तयारी गरिरहेको छ ।

नदी आसपासका ठूलो क्षेत्रफलको खेतमा काटेर थुपारिएको धानबाली अचानक आएको बाढीले बगाएको थियो भने अन्य क्षेत्रको जग्गामा भएको डुबानले बाली पानीमै तैरिएको थियो ।

जमेको पानीमा तैरिएको धानबाली हेर्दै किसान अब भोकमरी हुने भन्दै चिन्तित देखिन्छन् । तराईका जिल्लाको तुलनामा प्रदेशका पहाडी जिल्लामा भने धानबालीमा ठूलो क्षति पुग्न पाएको छैन ।

पहाडमा पहिरो तथा बाढी, नदीकटानको समस्या र तराईमा डुबान तथा नदी कटानको समस्या बढी देखिएको थियो । बालीमा पुगेको क्षतिबाट देशको आर्थिक अवस्थामा पनि प्रतिकूल असर पर्ने देखिएको छ ।

धान उत्पादनका पकेट क्षेत्रका रुपमा रहेका कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान प्रदेशका सात पहाडी जिल्लाका अलावा देशका अन्य भागमा निर्यात हुने गर्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावित क्षेत्रमा केही दिनअघि गरेको क्षतिको स्थलगत निरीक्षण अवलोकनपछि भने पीडामा बसेका जनतालाई केही आशा पलाएको छ । ‘प्रधानमन्त्रीको भ्रमणपछि पीडित किसानमा राहत पाउने आसा पलाएको छ’, धनगढी उपमहानगरपालिकाका किसान रमेश रानाले भने ।

यही गत असोर ३१ गते रातिदेखि लगातार चार दिनसम्म परेको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानले प्रदेशमा सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने २२ जना बेपत्ता छन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top