विराटनगर,साउन १९
एक नवजात शिशुको मृत्यु भएपछि विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गएरातिबाट तनाव भएको छ ।
चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफ्न्तले उपचारमा संलग्न डाक्टरलाई कारबाहीको माग गरेपछि तनाव भएको हो । ब्यथा लागेर बिहीबार अस्पतालमा भर्ना भएकी मोरङको धनपाल थान गाउँपालिका ४ की आरती मरिकले शुक्रबार साँझ साढे ५ बजे नर्मलरुपमा शिशु जन्माएकी थिइन् ।
जन्मिएको केहीबेरमै शिशुको अवस्था चिन्ताजनक रहेको भन्दै उपचारमा संलग्न चिकित्सकले अन्यत्र लैजान भन्दै रिफरसहित डिस्चार्ज गरिदिएका थिए । शिशुलाई स्थानीय एक अस्पतालमा लग्दा मृत्यु भैसकेको र भर्ना नलिने जानकारी दिएपछि पीडित पक्ष आक्रोशित भएका थिए ।
शिशुको जन्मअघि गरिएको परीक्षणमा सबै कुरा सामान्य भनिएको तर जन्मिएको केही समयपछि नै अवस्था चिन्ताजन रहेको भन्दै डिस्चार्ज गरिनुमा चिकित्सकको दोष रहेको मृतक पक्षको भनाइ छ । रेफर गरिएर अन्यत्र गएका पीडित पक्षले शिशुको मृत्यु भएको थाहा पाएछि शव ल्याएर अञ्चल अस्पतालको बेडमा राखेका छन् ।
उनीहरुले चिकित्सकलाई कारबाही नगरेसम्म शव नबुझ्ने भन्दै होहल्ला गर्न थालेपछि अस्पताल परिसरमा ब्यापक प्रहरी परिचालन गरिएको थियो ।