आदिवासी जनजातिका एजेण्डामा बौद्धिक बहस हुनुपर्छ : सभामुख महरा

आदिवासी जनजातिका एजेण्डामा बौद्धिक बहस हुनुपर्छ : सभामुख महरा

काठमाडौँ, साउन १९
सभामुख कृष्णबहादुर महराले आदिवासी जनजाति समुदायको आन्दोलन र त्यसले उठाएका आवाज संसद्कै ‘एजेण्डा’ हुने गरी बौद्धिक बहसमा लैजान आग्रह गरेका छन् ।

चौबीसौँ विश्व आदिवासी दिवसका अवसरमा आज यहाँ आयोजित आदिवासी जनजाति बृहत राष्ट्रिय राजनीतिक सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, “आदिवासी जनजाति समुदायले उठाउँदै आएका अधिकार, प्रतिनिधित्व, स्वायत्तता÷स्वशासन र पहिचानसहितको संघीयताजस्ता मुद्दालाई संसद्कै एजेण्डा हुने गरी बौद्धिक बहसको रुपमा लैजान मेरो विशेष अनुरोध छ, प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि नीतिगत तहबाटै समाधान खोज्नुहोस् ।”

जनताको चाहना र आवश्यकता भएमा संविधान संशोधन गर्न सकिने बताउँदै सभामुख महराले भने, “संविधान कुनै त्यस्तो जड वस्तु होइन, जसलाई परिमार्जन, संशोधन गर्न नसकियोस् । जनताको चाहना र आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिन्छ ।”

ऐन कानून निर्माणको तहमा जनजाति समुदायको अधिकारका लागि सभामुखको हैसियतले राष्ट्रिय स्वाभिमान र मर्यादामा आँच नआउने गरी आफूले सक्दो पहल र सहयोग गर्ने भन्दै सभामुख महराले आदिवासी जनजाति समुदायको आन्दोलनले उपेक्षित, उत्पीडित, सीमान्तकृत वर्ग, जाति, क्षेत्र, लिङ्ग, भाषाभाषी र समुदायका नागरिकलाई राज्यको पहुँचमा ल्याउन योगदान गर्नुपर्नेमा जोड दिएको सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, काँग्रेस नेता तथा सांसद जीपछिरिङ लामा, संघीय समाजवादी फोरमका नेता तथा सांसद राजेन्द्र श्रेष्ठलगायतले बोलेका थिए ।आदिवासी जनजाति महासंघ मुख्य आयोजक रहेको दुईदिने बृहत राजनीतिक सम्मेलनमा देशैभरिबाट आदिवासी जनजाति समुदायका प्रतिनिधि सहभागी रहेको महासंघका उपाध्यक्ष नवीन रोका मगरले जानकारी दिए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.