बेनी–जोमसोम–कोरला सडकको ६ खण्डको स्तरोन्नति

१५ कात्तिक ७८, मंगलबार

१६ कार्तिक, म्याग्दी ।

Advertisement

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको ६ खण्डको स्तरोन्नति गरिएको छ।

चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने उक्त सडकको अब एउटा प्याकेजको स्तरोन्नतिको काम बाँकी छ। आयोजनाका प्रमुख जगत् प्रजापतिले ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये ६ प्याकेज निर्माण सकिएको जानकारी दिए।

Advertisement

७६ किलोमिटर दूरीको बेनी–जोमसोमको चारमध्ये एउटा प्याकेजको कालोपत्र सकिन लागेको र अर्को प्याकेज कालोपत्रको तयारीमा रहेको उनले बताए।

जोमसोम–कोरला खण्डअन्तर्गत तामाङ–गौरी पार्वती–सप्तकोशी जेभीले ठेक्का लिएको २५ किलोमिटर दूरीको चराङ–छोसेरबाहेकका प्याकेजको स्तरोन्नति सकिएको छ।

Advertisement

उक्त खण्डको भौतिक प्रगति ६५ प्रतिशत छ। ग्राभेल भइसकेको २५ किलोमिटर दूरीको जोमसोम–कागबेनी खण्डको सडक दोस्रो चरणमा कालोपत्र गर्ने तयारी भएको छ।

भेना–घिलिङ, कागबेनी–ताङवे, ताङ्वे–चैले, चैले–चराङ र छोसेर–कोरला खण्डको सडक स्तरोन्नति भइसकेको छ। बेनी–जोमसोम खण्डको ६५ र जोमसोम–कोरला खण्डको ८५ प्रतिशत प्रगति छ। ११ मिटर फराकिलो, नाली, ग्याविनसहितको पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गर्ने काम सकिएको छ।

झण्डै ६ अर्बको लागत अनुमान गरिएको उक्त आयोजनामा आर्थिक वर्ष २०७७÷७८ सम्म पाँच अर्ब १३ करोड ४८ लाख खर्च भएको छ। चालु आर्थिक वर्ष २०७८÷७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनालाई एक अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ । सो सडकको विभिन्न ठाउँमा करिब २० मोटरेबल पुल निर्माणाधिन छन्।

आयोजनाअन्तर्गत १९ किलोमिटर दूरीको म्याग्दीको गलेश्वर–नारच्याङ पुल खण्डको गलेश्वर र राहुघाटबाट बेगखोलासम्मको ६ किलोमिटर कालोपत्र सुरु भएको छ।

शर्मा गजुरमुखीले ठेक्का लिएको तेस्रो नम्बर प्याकेजमा पर्ने १६ दशमलव ५ किलोमिटर दूरीको कैकुखोला–खन्ती खण्ड कालोपत्र अन्तिम चरणमा पुगेको छ। सोही कम्पनीले ठेक्का लिएको नारच्याङ–कैकुखोला खण्डमा पर्ने काभ्रे, बादरजुङ र घोप्टेभिर खण्डमा पहाड फुटाएर सडक विस्तार गर्न तीन हजार प्वाल खोलेर १० मेट्रिक टन जिलेटिन विस्फोट गराउने तयारी छ।

बर्खाका कारण रोकिएको सडक निर्माणको काम दशैंलगत्तै अघि बढेको छ। चौथो नम्बर प्याकेजमा पर्ने कोवाङबाट जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न थालिएको छ।

बेनी घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्र हुन लागेको आयोजनाका इञ्जीनियर आशिष मानन्धरले बताए। ११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र गरिने उनले बताए।

१३ किलोमिटर दूरीको बेनी–मालढुङ्गा सडक विस्तारको काम पनि सुरु भएको छ। मालढुङ्गाबाट बेनी हुँदै जोमसोमसम्म दुई लेन कालोपत्र र जोमसोमबाट कोरलासम्म ११ मिटर फराकिलो ग्राभेल सडक बनाउन सञ्चालित उक्त आयोजना राष्ट्रिय गौरवको हो। (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top